आइतबार​, असोज १० २०७८ ०९:३० PM

×

तरकारी खेतीमा रजाली किसानको ‘रजाइँ’, श्रीमतीको गहना बेचेर लगानी, वार्षिक १२ लाख आम्दानी

images

नवलपरासी । नवलपरासीको हुप्सेकोटका ग्यामबहादुर रजाली मगर झन्डै २२ वर्षअघि सामान्य किसानका रूपमा चिनिन्थे । सामान्य किसानसँग अहिलेको जस्तो खेतीपाती गर्दा यान्त्रीकरण तथा मेसिनको पहुँचमा त्यति थिएन । कृषि कर्म परम्परागत नै चल्दै थियो ।

२२ वर्षअघि खेती लगाउँदा प्राङ्गारिक तथा जैविक मलकै प्रयोग बढी हुन्थ्यो । तर, केही किसानले भने रासायनिक मलको प्रयोग गर्थे । त्यसमध्ये ग्यामबहादुरले त्यतिबेला तरकारी खेती गर्दा युरिया मलको प्रयोग गर्ने गरेका थिए । उनलाई बुवाले झन्डै दुई वर्ष रासायनिक मल हाल्नै दिएनन् । उनले आफ्नै केही जग्गामा तरकारी खेती सुरु गरिसकेका थिए ।

रासायनिक मल हाल्न नदिएपछि अघिल्ला वर्षको तुलनामा तरकारी उत्पादन घटेको गुनासो रजालीको छ । त्यसपछि भने उनले रासायनिक मलभन्दा प्रांगारिक तथा जैविक मल नै हाल्नुपर्छ भन्ने चाल पाए ।
विगत २२ वर्षदेखि हुप्सेकोट गाउँपालिका–१ मा रजालीले निरन्तर तरकारी खेती गरिरहेका छन् । अहिले आफ्नो तरकारी फार्ममा रासायनिक मलको प्रयोग ९० प्रतिशत घटाइसकेको उनी बताउँछन् । अर्थात, उनले जैविक मलकै प्रयोग अग्र्यानिक तरकारी उत्पादन गरिरहेका छन् ।

डेढ बिघा आफ्नै जग्गामा दुई दशकदेखि अवनरत तरकारी खेतीमा होमिएका रजाली अहिले पनि तरकारी उत्पादन गर्ने कामबाट थाकेका छैन । उमेर ४४ वर्ष नाघेका रजालीको जाँगर २०/२२ उमेरको युवाको भन्दा कमी नहोला ।

‘लाहुरे’ हुने धोको पूरा नभएपछि तरकारी खेतीमा

उनी झन्डै २१ वर्षको उमेरमा लाहुरे हुन भर्तीका लागि गोरखपुर नपुगेका होइन् । तर, भर्ती हुन नसकेपछि उनमा नेपालमै केही गर्नुपर्छ भन्ने सोच पलायो । त्यतिबेला गोरखपुर रहँदा ठूलो टनेलभित्र आधुनिक प्रविधिमा तरकारी खेती गरेको उनले देखेका थिए । ‘म २१ वर्षको उमेरको  थिएँ, लाहुरे बन्न भनेर भर्ती हुन गोरखपुर पुगेँ । भर्ती हुन सकिएन’ उनले भने, ‘त्यहाँ ठूलो क्षेत्रमा टनेलमा तरकारी खेती गरेको देखेँ । हामीले पनि गर्न सक्छौं नि भन्ने लाग्यो त्यतिबेला । अनि फर्केर बुबाआमाको सल्लाह लिएर १२ कठ्ठामा तरकारी लगाउन सुरु गरेँ ।’

त्यो देखेर फर्केपछि उनले पनि तरकारी नै लगाउने निधो गरे । सुरुमा बुवाआमासँगको सल्लाहबमोजिम १२ कठ्ठामा पहिलो पटक तरकारी खेती सुरु गरे । पढाईका हिसावले १० कक्षामा फेल भएर लाहुरे बन्ने रहर बोकेका ग्यामबहादुर अहिले तरकारी खेतीमा उदाहरणीय किसानको रुपमा परिचित हुन थालेका छन ।

वार्षिक १२ लाख आम्दानी

अहिले उनले आफ्नै डेढ बिघा जग्गामा मुख्य गरी काँक्रो र सहायक खेतीमा करेला, घिरौंला, फर्सी, भन्टा, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । त्यसबाट उनले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
अहिले उनले बारीमा अग्र्यानिक तरकारी उत्पादन गरेर नजिकैको कावासोती, बुटवल र नारायणगढसम्म पुर्याएर बिक्री गरेका छन् । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मल, बीउ, सिँचाइ र पावर टेलर लगायतका कृषि उपकरणमा सहयोग पाइरहेका छन् ।

५० प्रतिशत अनुदानमा उनले जमिन जोत्ने पावर टेलर हलो र बीउबीजन पाएको बताए । सिँचाइ सुविधा र रोग कीरा नियन्त्रणमा भने समस्या भइरहेको उनको गुनासो छ । ग्यामबहादुरले वार्षिक रूपमा गर्ने आम्दानीले दुई छोरा, आमा र आफ्नो दम्पतीको परिवार खर्च चलाएर वार्षिक १२ लाख आम्दानी गर्न सफल छन् । सोही आम्दानीले उनले कावासोती नगरपालिका–४ हथौरामा २ तला पक्की घरसमेत किनिसकेका छन् ।

सोही टोलकै अर्का किसान छनबहादुर रजालीले पनि तरकारी खेती गर्दै आएका छन् । नाताले ग्यामबहादुरकै अंकल पर्ने छनबहादुर रजालीले विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनी हात्तीबुढे कृषक समूहअन्तर्गत आबद्ध भएर विगत १८ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । डेढ बिघा क्षेत्रफल आफ्नै जमिनमा उनले आधुनिक तरिकाले तरकारी खेती गरेका छन् ।

सम्पूर्ण खर्च कटाएर वार्षिक १० लाख आम्दानी गर्ने छनबहादुर रजालीले कामको खोजीमा बिदेसिने युवालाई स्वदेशमै दुःख गर्न आग्रह गर्छन् । ‘केही समय विदेश गएर हुँदैन । नेपालमै फर्किनुपर्छ’ उनी भन्छन्, ‘स्वदेशमै दुःख गर्न सके माटोमा सुन फलाउन सकिन्छ ।’ त्यस्तै, अर्का किसान थमन रजाली पनि पेसाले मास कम्युनिकेसनका विद्यार्थी हुन् । तर, अहिले विगत ९ वर्षदेखि हुप्सेकोटमै तरकारी खेतीमै रमाइरहेका छन् ।

करिब ढाई बिघामा आफ्नै जमिनमा टमाटर, करेलालगायतका मौसमी तथा बेमौसमी तरकारी लगाएर उनले पनि राम्रै आम्दानी गर्न सफल भएका छन् ।

‘श्रीमतीको गहना बेचेर लगानी जुटाएँ’

वि.सं. २०६८ सालदेखि तरकारी खेती सुरु गरेका थमन रजाली आधुनिक प्रविधिमार्फत थोपा सिँचाइमार्फत तरकारी खेती गरिरहेका छन् । तरकारी खेती सुरु गर्दा लगानीको समस्या उनलाई पर्यो ।
‘सुरुमा तरकारी खेती गर्न आर्थिक अभाव झेल्नुपर्यो । श्रीमतीको गहना १७ हजार रूपैषाँमा बेचेँ । र, अरूसँग सापट र ऋणको जोहो गरेँ’ उनले थपेँ, ‘जम्माजम्मी ४७ हजार रुपैयाँ भयो । त्यसले मल, बीउबीच, ट्यांक, मलचिनी, मेसिन लगायतमा खर्च गरेर सुरु गरेँ ।’

उनले मेहनतका साथ तरकारी खेतीमा गरेको लगानीले पहिलो वर्ष नै खुसी दिलायो । उनले पहिलो वर्ष नै काँक्रो बेचेर ७ लाख रुपैयाँ आम्दानी गरेको सुनाएँ ।

‘त्यसरी लगानी जुटाएर तरकारी खेती गरेँ । तर, पहिलो वर्ष नै काँक्रो बेचेर ७ लाख आम्दानी भयो,’ उनले भने, ‘त्यसपछि, अब भने गर्नुपर्ने रहेछ है भन्ने जाँगर आयो ।’

अहिले उनको लगानी ५० लाख हाराहारी पुगिसकेको छ । वार्षिक १० देखि १२ लाख रुपैयाँ सबै खर्च कटाएर आम्दानी नै हुने गरेको थमन बताउँछन् । सो आम्दानीले उनले घर खर्चसँगै कावासोतीमै साढे तीन कठ्ठा जग्गा जोडिसकेका छन् । त्योसँगै उनले कावासोतीमा कृषिजन्य मेसिनरी सामग्री बिक्री केन्द्र नै चलाएका छन् ।

उमेरले ३२ वर्ष लागेका उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोन कार्यक्रमअन्तर्गत सञ्चालक समितिका सचिवसमेत हुन् । यीबाहेक अन्य रजाली किसानहरूले पनि एकल र सामूहिक रूपमा तरकारी खेती गर्दै आएका छन् । हुप्सीकोट क्षेत्रमा अधिकांश रजाली किसान तरकारी खेतीमा सशक्त रूपमा आबद्ध छन् । रजाली मगर किसानसँगै केही गुरुङ समुदायका किसानले पनि त्यसक्षेत्रमा तरकारी उत्पादन गर्दै आएका छन् । 

‘विदेश भएका श्रीमानको मुख ताक्नुपर्दैन’ 

ग्यामबहादुर रजालीकै सिको गर्दै अहिले त्यसक्षेत्रका अधिकांश किसान तरकारी खेतीमै आबद्ध छन् । १५ कठ्ठा आफ्नै जग्गामा विगत ४ वर्षदेखि तरकारी खेती गर्दै आएकी मिसमाया गुरुङ पनि बर्सेनि हुने आम्दानीबाट सन्तुष्ट छिन् । उनले वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्छिन् ।

श्रीमान बिदेसिएका महिलाहरू पनि तरकारी खेतीमै लागेका छन् । २६ महिना पहिले श्रीमान बिदेसिएपछि अर्की किसान सेनिमाया सिन्जालीको दैनिक खेतबारीमै बित्ने गर्छ । तरकारी खेती गरेर गरेको आम्दानीले ३ छोराछोरीसहितको सेनिमायाको परिवार राम्रैसँग चलेको छ ।

‘श्रीमानले विदेशबाट पैसा पठाइदिएपछि खर्च चलाउँला भन्ने आशा हुन्थ्यो । अहिले त्यो अवस्था छैन ।’ सेनिमाया सिन्जालीले बताइन् । उनीसँगै सोही क्षेत्रका निशा मिडुन र मोतीमाया माकिम जस्ता महिला किसान पनि शक्रिय रूपमा तरकारी खेती गरी सफल बनिरहेका छन् । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत तरकारीको जोन क्षेत्र घोषणा गरेर किसानलाई सहयोग गरिरहेको छ । 

मल, बीउ, मेसिन तथा उपकरण लगायतका कुरामा ५० प्रतिशत अनुदान किसानले पाइरहेका छन् । जोनअन्तर्गत ३० बिघा जमिनमा विभिन्न १ सय १६ वटा किसानहरूको समूह/सहकारी र ठूला उद्यमी किसान आबद्ध छन् । जोनअन्तर्गत तरकारी खेती हुने क्षेत्र हुप्सेकोट गाउँपालिका–४, कावासोती नगरपालिका–८ र मध्यविन्दु नगरपालिका–४ मा पर्छ ।

हात्तीबुढे कृषक समूहअन्र्तगत २७ घरधुरीका किसान आबद्ध भएर सामूहिक तरकारी खेती गरिरहेका छन् । सो समूहअन्र्तगत किसानले २० बिघा क्षेत्रफलमा मौसमी तथा बेमौसमी अग्र्यानिक तरकारी उत्पादन गर्दै आएका छन् ।

समूहले औसतमा वार्षिक रूपमा तरकारी उत्पादन गरी ६० लाखभन्दा बढी आम्दानी गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोन कार्यक्रमअन्र्तगत सञ्चालक समितिका सचिव थमन रजालीले बताए । त्यहाँको प्रत्येक किसानले प्रतिकठ्ठा जमिनमा वार्षिक १ लाख रुपैयाँ आम्दानी गर्ने गरेको रजालीले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको एक साता लामो मिडिया मनिटरिङ कार्यक्रमका अवसरमा नवलपरासीको हुप्सेकोटमा किसानले तरकारी खेती कसरी गरिरहेका छन् भन्ने बारेमा जानकारी लिइएको थियो ।

पीएमएएमपी कार्यक्रमले मेहनति तरकारी खेती गर्दै आएका किसानलाई कसरी फाइदा पुगेको छ भन्ने सन्दर्भमा पनि अधिकांश किसानले सरकारी अनुदान र सहयोग पाएकै कारणले तरकारी खेतीमा टिक्न सकिएको बताएका थिए ।

साना किसान र लक्षित वर्गका किसानले थोरै मात्र सरकारको अनुदान वा सहयोग पाएमा सफल हुन सक्ने पीएमएमपी कार्यक्रम खुमल्टारका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत महेन्द्रनाथ पौडेल बताउँछन् । अन्यत्रको तुलनामा तरकारी जोन हुप्सेकोटका किसानले तरकारी खेतीमा राम्रै आम्दानी गर्न सफल भएको उनी बताउँछन् ।  

त्यसमा पीएमएएमपी कार्यक्रमबाट किसानले आधुनिक प्रविधि, यन्त्र, मेसिन, मल, बीउलगायतका कुरामा ५० प्रतिशतसम्म अनुदान उपलव्ध भएको उनको भनाइ छ । तरकारी जोन सुरु हुँदा ४०० हेक्टर क्षेत्रमा विभिन्न समूह/सहकारी किसानहरूले तरकारी खेती गर्ने गरेकोमा अहिले क्षेत्र विस्तार भई ५६० हेक्टर जमिनमा तरकारी जोन सञ्चालित छ ।


 

बुधबार ११ चैत २०७७ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया