काठमाडौं । खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ भएपछि नेपाल विद्युत प्राधिकरणले बिजुली खरिदवापत हिमाल पावर लिमिटेडलाई दिँदै आएको अन्तरिमकालीन भुक्तानीको म्याद थप हुने भएको छ ।
स्वामित्व हस्तान्तरण र नयाँ पीपीए नभएका कारण विद्युत प्राधिकरणले हिमाल पावरलाई अहिले प्रतियुनिट २ रुपैयाँका दरको बिजुली खरिदको अन्तरिमकालीन भुक्तानी गरिरहेको छ ।
अन्तरिमकालीन विद्युत खरिदको म्याद माघमा ३० गते अर्थात शुक्रबार सकिँदै छ । आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा र नयाँ विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नभएपछि पुनः म्याद थप हुन लागेको प्राधिकरणले जनाएको छ ।
हिमाल पावरका प्रतिनिधि मार्चमा आउने भएका छन् । उनीहरू आएपछि आयोजनाको आधा स्वामित्व हस्तान्तरण, नयाँ कम्पनी गठन र नयाँ पीपीए हुनेछ । स्वामित्व हस्तान्तरण सम्झौतापछि नयाँ पीपीएका आधारमा प्राधिकरणले हिमाल पावरलाई पूर्ण भुक्तानी गर्नेछ ।
सम्झौता सकिएको ७ महिना बितिसक्दा पनि विदेशी लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण भएको छैन । नर्वेको बहुमत स्वामित्व रहेको खिम्ती आयोजनाको सम्झौता असार २७ गतेदेखि सकिएको छ ।
हिमाल पावरले चलनचल्तीको (पोष्टेड रेट) अर्थात वर्षादमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा मागेको छ । तर, विद्युत प्राधिकरणले पहिला नै धेरै लाभांश लगिसकेकाले सो दरमा पीपीए नहुने स्पष्ट पारेको छ ।
खिम्ती आयोजना सञ्चालन गर्न विद्युत प्राधिकरण र हिमाल पावरको संयुक्त कम्पनीमा खिम्तीको स्वामित्व हस्तान्तरण हुनेछ । २०५२ माघमा विद्युत प्राधिकरण र हिमाल पावरबीच डलरमा पीपीए भएको थियो ।
बिजुली खरिदवापत विद्युत प्राधिकरणले आयोजनालाई डलरमा भुक्तानी गर्दै आएको थियो । डलर बढेपछि खिम्तीको बिजुली महँगो भएको थियो । आयोजनाले सरकारलाई बुझाउनु पर्ने रोयल्टी पनि विद्युत प्राधिकरणले तिर्दे आएको थियो ।
वार्षिक ५० करोड रुपैयाँ बढी रोयल्टी प्राधिकरणले सरकारलाई बुझाउँदै आएको थियो । यसले गर्दा बिजुलीको लागत प्रतियुनिट २१ रुपैयाँसम्म पुगेको थियो । विदेशी मुद्रा विनिमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गरिरहेको थियो ।
बिजुली खरिद र रोयल्टीसमेत गरी विद्युत प्राधिकरणले वार्षिक ५ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । आधा स्वामित्व र नयाँ पीपीए दर कायम भएपछि खिम्तीमा कम्तीमा साढे ३ अर्ब रुपैयाँ दायित्व घट्नेछ ।
अरुण तेस्रो आयोजनाको अवसानपछि खिम्ती जलविद्युत निर्माण भएको हो । ९०० मेगावाटको अरुण तेस्रो अहिले भारतको सतलज जलविद्युत निगम लिमिटेडले निर्माण गरिरहेको छ ।
सन् २००० जुलाईदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो ।
खिम्ती आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीतिअन्तर्गत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाई ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । बीपीसीको खिम्तीमा १७ प्रतिशत स्वामित्व रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो ।
विद्युत प्राधिकरणसँग डलरमा पीपीए गर्दा १ डलरबराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजबुत भएर ११७ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।