काठमाडौं । नेपालबाट ढिलोमा आगामी ३ वर्षपछि भारतमा बिजुली निकासी हुने भएको छ । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली भारतमा निकासी हुने भएको हो ।
आयोजना सन् २०२२ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारीले गर्दा पछि धकेलिएको छ । संभवत ३ वर्षपछि विकासकर्ता एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले भारतमा बिजुली निकासी गर्नेछ । अरुण तेस्रोको ४० प्रतिशत निर्माण सकिएको छ । आयोजनाको बाँध बनाउने काम पनि सुरु भएको छ ।
यस्तै एसजेबीएन लिमिटेडले भरखरै ६७९ मेगावाटको तल्लो अरुण आयोजनामा छनौट भएको छ । भारतीय कम्पनी एसजेबीएनले दुवै आयोजनाहरूबाट उत्पादन हुने बिजुली भारतमा निकासी गर्ने भएको छ । अरुण तेस्रो र तल्लो अरुणबाट भारतीय कम्पनी एसजेबीएनले १६०० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।
यी दुई आयोजना सम्पन्न भएपछि एसजेबीएनले मात्रै १ हजार २४० मेगावाटभन्दा बढी बिजुली भारतमा निकासी गर्नेछ । भारत सरकार स्वामित्वका सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी अरुण ३ पावर डेभलपमेन्टले निर्माण गरिरहेको अरुण तेस्रोमा नेपाललाई २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क दिएर बाँकी ७०३ मेगावाट भारतमा निकासी गर्नेछ ।
यस्तै तल्लो अरुण आयोजनाको हाल प्रस्ताव गरिएको जडित क्षमताअनुसार नेपाललाई १४२ मेगावाट बिजुली निःशुल्क दिएर भारतमा ५३७ मेगावाट निकासी हुनेछ । यो आयोजनाको जडित क्षमता बढ्ने संभावना छ । लगानी बोर्डले दुवै आयोजना भारत निकासी प्रयोजनका लागि निर्माण गर्न दिएको हो ।
एसजेबीएन गत साता मात्र तल्लो अरुण आयोजनामा छनौट भएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) आयोजना विकास सम्झौता (पीडीए), वित्तीय व्यवस्थापनलगायत धेरै प्रक्रिया बाँकी रहेकाले तल्लो अरुण आयोजना निर्माणको चरणमा पुग्न अझै केही वर्ष लाग्नेछ ।
यसैगरी भारतकै जीएमआर इनर्जी लिमिटेडले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना बनाएमा ७९२ मेगावाट थप बिजुली भारतमा निर्यात हुनेछ । जीएमआरले १०८ मेगावाट निःशुल्क बिजुली दिने सम्झौता गरेको छ । जीएमआरले ५०० मेगावाट बंगलादेशमा बेच्न सहमति गरेको छ । जीएमआर आर्थिक संकटमा परेकाले १ खर्ब ४० अर्ब रुपैयाँ लगानी जुटाउन सकेको छैन । यो आयोजनाको भविष्य अनिश्चित छ ।
बिजुली निकासी सुरु भएपछि भारतसँगको व्यापार घाटा कम हुनेछ । झण्डै ७० प्रतिशत व्यापार भारतमा निर्भर छ । बिजुलीको निकासी हुन थालेपछि व्यापार घाटा कम हुने देखिएको हो । लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ४.१८ भारु अर्थात ६ रुपैयाँ ६८ पैसामा बिजुली किनिरहेको छ । अहिले विद्युत प्राधिकरणले भारतबाट ६०० मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ । २ वर्षपछि लगभग भारतबाट भइरहेको बिजुली आयात बन्द हुनेछ ।
भारतसँगको व्यापार घाटा चुलिएको छ । निर्यात–आयात व्यापार अनुपात १० प्रतिशत छ । अर्थात ९० प्रतिशत आयात गर्दा नेपालबाट १० प्रतिशत मात्र निर्यात हुने गरेको छ ।
चालू आर्थिक वर्षको ५ महिनामा नेपालबाट ३५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको छ । यसबीचमा भारतबाट ३ खर्ब ४५ अर्ब ६९ करोडको वस्तु आयात भएको छ । बिजुली निकासीले व्यापार घाटाको यो अन्तरलाई कम गर्नेछ । आउँदो असारदेखि भदौसम्म ३ महिनाको अवधिमा रातको समयमा ५०० मेगावाट बिजुली खेर जाने विद्युत प्राधिकरणको अनुमान छ । यो बिजुली पनि भारतमा बेच्न सक्नेछ ।
अरुण तेस्रो बनाउन १ खर्ब ४४ अर्ब र तल्लो अरुण बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपालले प्रतिस्पर्धी मूल्यमा बढी भएको बिजुली भारतको बजारमा बिक्री गर्ने नसके पनि भारतीय कम्पनीहरूले आयोजना बनाएर बिजुली निकासी गर्ने भएका छन् । हालसालै भारतीय बजारमा नेपाल विद्युत प्राधिकरणले २५ मेगावाट बिजुली बेच्न प्रतिस्पर्धामा भाग लिएको थियो ।
भारतमा प्रतियुनिट ३ रुपैयाँ भारुसम्म कारोबार भएपछि विद्युत प्राधिकरण प्रतिस्पर्धाबाट बाहिरिएको छ । यद्यपि, उसलाई भारतमा प्रतिस्पर्धा गर्ने बाटो खुला छ । तर, आयोजनाको लागत मूल्य बढिरहेको र चुहावट बढी भएकाले अझै पनि विद्युत प्राधिरकरणले प्रतिस्पर्धी मूल्यमा बिजुली बेच्ने संभावना कम छ ।
लगानी बोर्डको ४६ औं बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बूट) मोडेलमा विकास गर्न तल्लो अरुण आयोजना बनाउन एसजेबीएनलाई छनौट गरेको हो ।
२०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले तल्लो अरुण आयोजना लगानीकर्ताहरू समक्ष प्रस्तुत गरेको थियो । एसजेबीएन सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी हो । सतलज भारत सरकार स्वामित्वको कम्पनी हो ।
तल्लो अरुणमा पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रोको जस्तै निःशुल्क ऊर्जालाई प्राथमिकतामा राखेर प्रस्ताव आह्वान गरेको थियो । एसजेबीएनले २१ प्रतिशत अर्थात हाल जडित क्षमताको १४२ मेगावाट बिजुली सित्तैमा दिनेछ ।
यसअघि उसले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि अरुण तेस्रो पाएको थियो । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ ।
अरुण तेस्रो र तल्लो दुवै आयोजना अत्यधिक विद्युतको माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो । अरुण तेस्रोबाट बिजुली उत्पादन भएको पानी सिधै तल्लो अरुणको सुरुङमा जानेछ ।
अरुण तेस्रो आयोजनाबाट निस्किएको पानीलाई सिधै सुरुङमार्फत प्रवाह गरेर विद्युत उत्पादन हुनेछ । आयोजना बनाउन बाँध नपर्ने भएकाले लागत सस्तो पर्ने संभाव्यता अध्ययनले देखाएको छ ।