×

कालो धनको तुजुक

images

नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बनेर अनुसन्धानको काम अघि बढेकै एक दशकभन्दा बढी भइसक्यो । भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचार निवारण ऐन २०१७ ल्याएको पनि ६ दशक पूरा भइसकेको छ । तर, भ्रष्टाचार न्यूनीकरण होइन झनझन् जरा गाड्दै गएको छ । त्यस्तै कर छलीमा सक्रिय हुने वर्गलाई नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग पनि क्रियाशील छ ।

तर, त्यसको काम पनि झाराटार्ने खालको मात्रै छ । राजस्व छलेर होस् वा भ्रष्टाचार गरेर होस् वा उपभोक्ता ठगेर होस् वा लुटपाट गरेर किन नहोस् जुनसुकै विधिबाट कालो धन कमाएकाहरू राजनीतिक तथा प्रशासनिक आडका कारण समाजमा उच्च मनोबलका साथ हिँडिरहेका छन् । कानुनी दायरामा आउनुपर्ने व्यक्ति समाजका ऐना बन्दैछन् । 

पछिल्लो चरणमा देखिएका रासायनिक मल खरिद, स्वास्थ्य सामग्री खरिद, अडियो टेप प्रकरण, अख्तियारका आयुक्त घूस प्रकरण, बाइडबडी जहाज खरिद, ३८ टन सुन प्रकरणदेखि एनसेल कर छली, बैंकमा रोक्का राखिएको अवैध रकम भुक्तानी, विभिन्न स्थानमा भएका राजनीतिक नियुक्तिसँगै विभिन्न आयोजनामा भएका ठेक्का सम्झौताहरूले के देखाउँछ भने कालोधनका पारखीहरूको सान दिन दुई गुना र रात चार गुनाका दरले बढिरहेको छ ।

दिनभर मिहिनेत गरेर खाने वर्ग भोकै बस्नुपर्ने अवस्थामा यस्ता गतिविधिले जनस्तरमा एक प्रकारको आक्रोश पैदा गरेको छ । परिस्थिति र राजनीतिक दलको खेलोपड्कोले प्रष्ट पारिसकेको छ कि राजनीति भनेको गुन्डा र लुटेराहरूले गर्ने व्यवसाय हो भने गुन्डा र लुटेरा, अपराधी भनेका राजनीतिक दलका नेता हुन् । राजनीतिक नेतृत्वमा देखाउने र चपाउने हात्तीको जस्तै दुई दाँत भएका कारण जनता भ्रमित भएका हुन् । सधैं सबैका लागि एउटै व्यक्ति प्रिय हुनुको पछाडि सम्बन्धित व्यक्तिको कार्य कौशलताले काम गरेको होइन सो व्यक्तिले राजनीतिक नेतृत्वलाई गरेको पालनपोषणको आधार पनि हो ।

मार्सी चामलको भातदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहालको घरबेटीसम्मको सम्बन्ध माने पनि नमाने पनि कालोधनको तुजुकसँग जोडिएको छ । किन गुन्डा र अपराधीहरूले राजनीतिक नेतृत्वलाई टेर्दैनन् ? किन विभिन्न अपराधीका मतियारहरूमाथि आक्रामक अनुसन्धान हुँदैन ? अपराधमाथि भएका अनुसन्धान र मुद्दा चलाउने प्रवृत्ति किन काम चलाउ र सफाइ पाउने किसिमका हुन्छन् वा पूरा प्रमाण बटुलिँदैन ? यो सबैको एउटै समाधान हो राजनीतिक नेतृत्वको महत्वाकांक्षा अपराधीहरूले नै पूरा गरेका छन् । उनीहरूकै खटनपटनमा बस्नुपरेपछि समाज सुधार भाषणमा गर्ने एउटा नौटंकी मात्र भएको छ ।

किन राजनीतिक नेतृत्वले भ्रष्टाचारीहरूको पक्षपोषण गर्छन् ? किन भ्रष्टाचारीहरूलाई पटक–पटक अवसर दिइन्छ र विभिन्न बहाना बनाएर चोख्याउने काम हुन्छ ? राजनीतिक तथा प्रशासनिक दबाबका कारण जरैसम्म पुगेर अनुसन्धान गर्ने पद्धति नै बसाइएको छैन । यसको मूल जड नेताहरूले आफ्नो भजनमण्डली तयार गर्नु र कुस्त सम्पत्तिको जोहो गर्नु हो । 

चाहे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्ने अवैध सम्पत्तिमाथिको अनुसन्धान होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भ्रष्टाचारसम्बन्धी अनुसन्धान किन नहोस् सबै कमजोर बनाइन्छ । त्यति मात्रै होइन अन्य आपराधिक घट्नालाई समेत पहुँच र पैसाको भरमा अभियुक्त उम्किने ढंगले अनुसन्धान निकायहरूले अनुसन्धान गर्छन् । कालोधनको परखमा राजनीतिक नेतृत्व मात्र जोडिएको छैन, त्यसमा उद्योगी, व्यापारी र स्वयं न्यायको तराजु बोकेर बसेको न्यायालयसमेत बिकेको छ ।

जहाँबाट आफ्नो स्वार्थ पूरा हुन्छ त्यही आधारमा कानुनका धारा उपधारा व्याख्या गरेर अभियुक्त चोख्याउने काम हुन्छ । यो सबैको राजनीतिक नेतृत्व नै हो । राजनीतिक नेतृत्वले सुरुमै छनोट नै आफ्नो स्वार्थ अनुकूल गर्ने भएपछि त्यसबाट निस्किने परिणाम राम्रो भएन भन्नुको कुनै अर्थ छैन । चाहे अख्तियार होस् वा शुद्धीकरण विभाग वा न्यायालय सबै स्थानको नेतृत्व चयन गर्ने राजनीतिक नेतृत्व हो । 

प्रहरी तथा कर्मचारीकै सरुवा बढुवादेखि साना ठूला सबै (सार्वजनिक संस्थान तथा विकास समितिका प्रमुखदेखि संवैधानिक आयोगका प्रमुखसम्म, राजदूत, अनुसन्धान अधिकारीदेखि न्यायाधीशसम्मको नियुक्ति राजनीतिक नेताहरूको भक्ति र पैसाको लेनदेनको आधारमा हुन्छ भन्ने विश्वास आम जनमानसमा छ । जसले पैसा खर्च गरेर नियुक्ति लिएको छ उसले आफ्नो असुलउपर त गर्छ नै । समाजमा छिटो पैसा कमाउने बहानामा सबै प्रकारका हर्कत सुरु भएका छन् ।

राज्य संयन्त्रले नै जे गरे पनि छुट पाइन्छ भन्ने दिशानिर्देश गरेका कारण जनस्तरमा रहेका आपराधिक मानिसकताका धनीहरूले समाजलाई विकृत बनाइरहेका छन् । आफ्ना आफन्तहरूबाटै गोरखधन्दा देखिन थालेको छ । त्यसैले जनमानसमा रहेको यो भ्रमित बास्तविकतालाई  राजनीतिक नेतृत्वले नतोडेसम्म समाजमा कालोधनको तुजुक कायमै रहन्छ र नयाँ पुस्ता पनि त्यसैलाई मार्गदर्शन बनाएर अघि बढ्न प्रेरित हुन्छन् । बडादसैं २०७७ का अवसरमा माँ दुर्गा भवानीले कालोधनका हिमायतिहरूलाई सखाप पार्ने क्षमता राखुन । शुभकामना !

 

आइतबार​ ९ कात्तिक २०७७ ०७:३० AM मा प्रकाशित

प्रतिक्रिया