काठमाडौं । निजी लगानीमा निर्माणधीन लमजुङ जिल्लाको दोर्दी गाउँपालिका ६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
पिपुल हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो । आगामी भदौसम्म निर्माण सम्पन्न गरी उत्पादन हुने बिजुली राष्ट्रिय प्रशासरणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए ।
कुल ८ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी छ । इलेक्ट्रोमेकानिकल, सुरुङ र विद्युत् गृहभित्र भवन बनाउने काम भइरहेको उनले सुनाए ।
यो पनि पढ्नुस
सुपरदोर्दी जलविद्युत आयोजना १ वर्षभित्र सम्पन्न हुँदै, असारसम्म ८९ करोडको आईपीओ निष्कासन गर्ने तयारी
आयोजनाबाट २०७५ भित्रै व्यावसायिक बिजुली उत्पादन मिति रहेकामा पछिल्लो समय भूकम्प, बाढी र कारोना महामारीले आयोजना पछि धकेलिएको कम्पनीका प्रवन्धक सञ्चालक केशवबहादुर रायमाझीले बताए । उनले दशैं र तिहारमा पनि आयोजनाको काम नरोक्ने जानकारी दिए ।
२०७१ मा विद्युत खरिद सम्झौता (पीपीए) गरी २०७२ असोजबाट आयोजनाको निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छ । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ ।आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र बीपीसी कम्पनीले काम गरिरहेका छन् ।
आयोजना निर्माण भएपछि उत्पादित विद्युत लम्जुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । हाल उक्त सबस्टेसनको काम पनि तीव्र रुपमा अघि बढेको छ । दोर्दी करिडोरमा मात्रै निजी लगानीमा आधा दर्जन आयोजना निर्माणाधीन छन ।
यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो । यस्तै ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् ।
मस्र्याङदी करिडोरमा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन् । दोर्दीमा मात्रै ४ वटा आयोजना निर्माणधिन छन् । तीमध्ये २७ मेगावाटको दोर्दी र २५ मेगावाटको दोर्दीखोला ए आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।