काठमाडौं । सनराईज बैंकमा सञ्चालकबीच तीव्र मतभेद भएको छ । शैलेन्द्र गुरागाँइले अध्यक्ष मोतीलाल दुगडलाई पद छोड्न भनेपछि बोर्ड सदस्यबीचमा तीव्र मनमुटाव भएको हो ।
बिहीबार बसेको बोर्ड बैठकमा अध्यक्ष र सीईओको काम आफुलाई सन्तुष्ट नभएको भन्दै गुरागाँइले विषय प्रवेश गराएका थिए । सोही विषयलाई लिएर बोर्ड सदस्यबीच मतभिन्नता भएको हो । पछिल्लो पटक गुरागाँइले बोर्ड र व्यवस्थापनमा हस्तपेक्ष बढाएपछि सञ्चालकबीच नै विवाद बाहिर आएको हो ।
विगतमा पनि बोर्ड सदस्यबीच मनमुटावकै शैलीमा विवाद हुँदा सीईओ नियुक्तीमा समेत समस्या परेको थियो । दुगड समूहले यसअघि सीईओमा निरज श्रेष्ठलाई ल्याउन खोजे पनि गुरागाँइले अनाश्यक हस्तक्षेप गरेका कारण श्रेष्ठ रोकिएका थिए ।
श्रेष्ठपछि दुगड समुहले पौडेललाई सीईओ बनाउँदा पनि गुरागाँइ सन्तुष्ट थिएनन् । शैलेन्द्रले आफुनिकट सीईओ ल्याउनका लागि तयारी गरे पनि निर्णय गराउन नपाँउदा बोर्डसँग १३ महिना अघिदेखि विवाद सिर्जना गरिरहेका छन् ।
गुरागाँइजीले अध्यक्ष र सीईओलाई टार्गेट गरेर विषय उठाउन खोज्नु भएकाले विवाद भएको बोर्डका एक सदस्यले क्यापिटल नेपाललाई बताए । ‘हामी अहिले विवादभन्दा पनि सहमति गर्नका लागि छलफल गरिहेका छौं,’ उनले भने । ‘अहिलेसम्म सीईओको राजीनामा भएको छैन, तर उहाँलाई सोच्नका लागि समय दिएका छौं’
‘गुरागाँइले कि अध्यक्ष छोड्नुपर्ने कि सीईओ हटाउनुपर्ने प्रस्ताव गर्नुभएको हो, यसअघि पनि सीईओ नियुक्तीमा विवाद भएकाले अहिले सहज रुपमै जाने भन्ने विषयमा हाम्रो छलफल भएको छ, आइतबार वा सोमबार नयाँ कुरा आउन सक्छ,’ उनले भने ।
सात सदस्य रहेको बोर्डमा पाँच सदस्यले बैंकमा विवाद हुँदा नकारात्मक हुने भएकाले सीईओ पौडेललाई सोच्न समय दिएका छन् । दुई सदस्यले पौडेलले राजिनामा दिन नहुने बताएको ती सदस्यले क्यापिटल नेपाललाई बताए । खासमा अरु सदस्य पनि यति छिट्टै सीईओलाई राजीनामा गराउन नहुने भन्नेमा हुनुहुन्छ तर गुरागाँइजीले आन्तरिक कुरा पनि ल्याएर दबाब दिएको उनले बताए ।
बोर्डमा अध्यक्ष मोतीलाल दुगड, सञ्चालकहरुमा बच्चाराज टाटर, मालचन्द्र दुगड, गुरागाँइ, शारदा शर्मा, दिपक नेपाल, ओमकृष्ण जोशी छन् ।
प्रतिक्रियाका लागि गुरागाईंलाई सम्पर्क गर्न खोज्दा उनले मोबाइल उठाएनन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान) का अध्यक्ष रहेका गुरागाँइका कारण इपानमा पनि विवाद भएको छ । विवादका कारण इपानको निर्वाचन हुन सकेको छैन ।