काठमाडौ । माथिल्लो खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व असार २७ गतेदेखि नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । सोही दिनदेखि विद्युत प्राधिकरण र हिमाल पावर लिमिटेडबीचको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि खारेज हुने छ ।
६० मेगावाटको खिम्ती आयोजना सञ्चालन गर्न विद्युत प्राधिकरण र हिमाल पावरले संयुक्त कम्पनी स्थापना गर्ने छन । संयुक्त कम्पनी र विद्युत प्राधिकरणबीच नयाँ पीपीए हुने छ ।
सो कम्पनीमा विद्युत प्राधिकरण र हिमाल पावरको आधा स्वामित्व हुने छ । विद्युत प्राधिकरणले असार २६ गतेसम्म हिमाल पावरलाई बिजुली खरिदवापत डलरमा भुक्तानी गर्ने छ । त्यसपछि नेपाली रुपैयाँमा संयुक्त कम्पनीसंग पीपीए हुने छ ।
संयुक्त कम्पनी गठन भएपछि मात्र पीपीएको प्रक्रिया अघि बढ्ने विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले क्यापिटल नेपाललाई बताए । कोरोना भाइरसको विश्वव्यापी महामारीले गर्दा कम्पनी गठन प्रक्रिया अवरुद्ध भएको अधिकारीले जानकारी दिए । लगानीकर्ता नर्वेमा भएकाले उनीहरुसंग प्रत्यक्ष कुराकानी हुन नसकेको अधिकारीले स्पष्टपारे ।
कोरोना भाइरसको विश्वव्यापी महामारीले गर्दा स्वामित्व हस्तान्तरणका लागि संयुक्त कम्पनी गठनमा केही समय ढिलाइ हुने देखिएको उनको भनाई छ ।
यसैगरी विद्युत प्राधिकरणले यसअघि नै निर्देशक वेलप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिसकेको छ । शर्माको संयोजकत्वमा भएको समितिले हिमाल पावर लिमिटेडसंग आयोजनाको स्वामित्व हस्तान्तरण, कम्पनीको प्रवन्धपत्र नियमावली बनाउने काम गरिरहेको छ ।
आयोजनाको स्वामित्व हस्तान्तरण, आर्थिक विश्लेषण र विद्युत खरिदबिक्री सम्झौता (पीपीए) का लागि बेग्लै समिति गठन गरिएको छ ।
खिम्तीको स्वामित्व हस्तान्तरण गर्न डिल्लीराज दाहालको संयोजकत्वमा गठन भएको समितिले काम गरिरहेको छ । यस्तै आयोजनाको वित्तीय विश्लेषणको काम प्रवन्धक जयराज भण्डारीको समितिले गरेको छ । पीपीएको काम प्रवत्ता अधिकारीको समितिले काम अघि बढाएको छ ।
माथिल्लो खिम्ती आयोजनाबाट विद्युत प्राधिकरणले डलरमा महंगो बिजुली किन्दै आएको छ । रोयल्टी शुल्क समेत गरी खिम्तीको बिजुली प्रतियुनिट २१ रुपैयाँसम्म पुगेको छ । अहिले डलर महंगिएकाले पनि प्राधिकरणले हिमाल पावरलाई तिर्नुपर्ने दायित्व बढेको छ ।
खिम्ती आयोजनाका कारण विद्युत प्राधिकरणको वित्तीय अवस्था कमजोर भएको छ । यो वर्षदेखि आधा स्वामित्व आउने र पीपीए दर कम हुने र नेपाली रुपैयाँमा बिजुलीको विल भुक्तानी गर्नुपर्ने भएकाले दायित्व कम हुने छ ।
अरुण तेस्रो आयोजनाको अवसानपछि खिम्ती जलविद्युत निर्माण भएको हो । सन २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो ।
प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गरिरहेको छ ।
विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टीमात्रै वार्षिक ४८ करोड रुपैयाँ बुझाउदै आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ ।
खिम्ती आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) , नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । बीपीसीको खिम्तीमा १७ प्रतिशत स्वामित्व रहेको छ ।
खिम्तीबाट बीपीसीले वार्षिक ६० करोड रुपैयाँ हारहारीमा नगद लाभांश पाउँदै आएको छ । आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण र डलर पीपीए खारेज भएपछि बीपीसीको आम्दानीमा भारी गिरावट आउने छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो ।
विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १२२ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।