काठमाडौं । क्वारेन्टाइनका लागि प्रयोग गर्ने सरकारले निर्णय गरेसँगै तारे होटलहरुले कोठाको मूल्य घटाएका छन । उच्चस्तरीय समितिको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवंम संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सस्तो बनाउन आग्रह गरेपछि व्यवसायीले तारे होटलहरुले मूल्य घटाउने अवस्थामा पुगेका हुन ।
होटल एसोसिएन अफ नेपाल (हान) का महासचिव साजन शाक्यले तारे होटलको मूल्यमा केही फेरबदल गरिएको जानकारी दिए । हानका प्रतिनिधि र मन्त्री भट्टराईबीचको भेटमा केहि घटाउन आग्रह गरिए बमोजिम व्यवसायीहरुसँगको छलफलमा नयाँ मूल्य सार्वजनिक गरिएको उनले बताए ।
तय गरिएको नयाँ मूल्यअनुसार प्रतिदिनको लागि चार तारे होटलको प्रति कोठा एक जनाको लागि ८ हजार र दुई जनाको लागि प्रतिव्यक्ति ५ हजार ५०० रुपैयाँ छ । यसअघि एक्लै बस्न चाहनेका लागि १४ हजार र दुई जनाको लागि ८ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।
त्यस्तै तीन तारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रति व्यक्ति ३ हजार ५०० निर्धारण गरिएको छ । यसअघि तीन र दुई तारे होटलमा एक्लै बस्नेको लागि १० हजार र दुई जनाको लागि प्रति व्यक्ति ६ हजार रुपैयाँ तोकेको थियो ।
अहिले दुई तारेका लागि पनि नयाँ मूल्य तोकिएको छ । जहाँ एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रति व्यक्ति २ हजार ५०० रुपैयाँ तोकेको छ ।
एक तारेमा एक्लै बस्न चाहेनेको लागि ४ हजार र दुई जना बस्दा प्रति व्यक्ति २ हजार ५०० रुपैयाँ तोकेको छ । यसअघि एक्लैको लागि ५ हजार र दुई जना बस्नेलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएको थियो ।
यस्तै पर्यटकीय स्तरका होटलहरुको मूल्य पनि घटाइएको छ । यसअघि एक तारे सरहनै मूल्य राखिएको भएपनि अहिले एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रति व्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
होटलमा बस्नेले दिनको ४ पटक पोष्टीकयुक्त खाना र खाजा पाउने छन् । अहिले सार्वजनिक गरिएको मूल्यमा सेवा शुल्क र कर सहित जोडेको जनाएको छ । सरकारले १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भनेको छ ।