×

झारपातलाई जीवन्त कलामा उतार्दै कलाकार मिलन शेरचन

images

पोखरा । विश्वभर फैलिएको कोभिड–१९ ले अधिकांशलाई घरभित्रै थुनिएर बस्नुपर्दा दिन बिताउनै मुस्किल परिरहेको छ । तर, यहि बन्दाबन्दीमा झारपातलाई विभिन्न  रुप दिदै रमाइरहेकी छिन्, कलाकार मिलन शेरचन । पोखराको माछापुच्छ्रे मार्गस्थित घरमा पहिल्यै संकलन गरिएका झारपात रङ्ग्याउनु, सुकाउनु, उठाउनु अनि जीवन्त कलामा उतार्नु उनको पछिल्लो दिनचर्या बनेको छ ।

घरको आगनमा प्रवेश गर्नासाथ देखिन्छ टन्न सुकाइएको झारपात । हरियो दूबोसहित रङ्गीबिरङ्गी फूलको सजावट नजिकै ढुकुर र भँगेरालगायतका पंक्षीहरु चारो टिप्दै रमाइरहेका छन् । ढोका छेउको सानो कुनामा बाँसको थाँक्रामा लौका झुण्डिरहेको छ । 

जापानी शैलीको हानानो ओसिवाना अर्थात् झारपातबाट चित्र बनाउने कलाकारका रुपमा आफ्नो फरक पहिचान बनाएकी सफल कलाकार शेरचनको निवास मात्रै नभएको क्यानभास पनि हो । त्यहि क्यानभासमा रमाउँदा रमाउँदै उनलाई दिन बितेकै थाहा हुन्न । उनी भन्छिन् ‘बन्दाबन्दीमा साथीभाइले समय बिताउन निकै गाह्रो भयो भनेको सुन्छु तर मलाई दिन कति छिटो बित्छ पत्तै हुँदैन । सोच गरे, मोज हुन्छ भन्थे बूढापाका, हो रहेछ, बन्दाबन्दीअगावै बटुलेका झार अहिले केलाएर रङ्ग्याउन पाएकी छु ।’

बन्दाबन्दीको अवस्थामा बनाइएका मात्रै होइन पुरना आफ्नो कलालाई पनि उनी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्छिन् । त्यहि हरेर कलाका पारखीहरुले मन पराउने तथा खरिद समेत गर्ने गर्छन् । ‘मैले केही चित्र सामाजिक सञ्जालमा राख्ने गरेको छु, देशविदेशबाट पनि अर्डर आउँछ’, आफूले बनाएको चित्र देखाउँदै उनले भनिन् ‘यो अमेरिकाबाट साथीले अर्डर गरेपटि पुरानो घर, टौवा, हिमाल भएको चित्र तयार गरे ।’ आफ्नो चित्रमा हिमालय राख्न निक्कै मन पराउने उनले पोखरा फेवातालको शिरानतिर पर्ने पामेको दृष्य पनि साथीको अर्डर पाएपछि बनाइसकेकी छिन् ।  

प्रकृतिमा रमेर नयाँ नयाँ सिर्जना तयार गर्दा मानसिक रुपमा पनि समेत स्फूर्ति पाइने उनको अनुभव छ । ‘पोखरा आफैंमा सुन्दर शहर हो, तालतलैया, हिमाल, डाँडाँकाँडा मठमन्दिर यहाँको विशेषता हो, म यसलाई मेरो कलामा पनि उतार्छु, आनन्द लाग्छ सिर्जनामा रमाउँदा’, उनी भन्छिन् । त्यसो त उनले आफ्नो केहि सिर्जनामा समाजमा देखिएका महिला हिंसाहरुलाई उतारेकी छिन् ।  

पाँच वर्षे जापान बसाइमा जापानीज गुरूअामा नोहोरा उमीबाट सिकेको यो कलालाई सन् १९९८ बाट नेपालमा बनाउन शुरु गरेकी हुन् । नेपाल यस्तो कला भित्र्याउने आफू एक्लो महिला भएको उनको जिकिर छ । विसं २०३४ मा मकैको भुत्लाबाट बनाइएको पुतलीको चित्रलाई पोखरेली युवा साँस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उत्कृष्ट पुरस्कृत र्गयो । सोहि पुरस्कारले  आफूलाई व्यावसायिक रुपमा अघि बढ्न प्रेरणा मिलेको उनी बताउँछिन् ।

हानानो ओशिआना सुकाइएको झारपातको उचित सम्मिश्रण गरी जीवन्त कला सिर्जना हो । घरआँगन, करेसाबारी, यताउता डुल्दा मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उनका लागि उपयुक्त सामग्री बन्छ ।

लामो समय टिक्ने, सुकेपछि पनि कपडा जस्तै झट्ट नच्यातिने चिउरे घाँस, बाबियो, सिरु, बाह्रमासे फूलका पातहरु उनका कलामा बढी प्रयोग हुन्छ । उनले भनिन् ‘घर वरपर नै सजिलै पाइने य बनस्पतीलाई रङ, गम र अन्य कुराको सहायताले आकर्षक चित्रमा ढाल्न सकिन्छ ।’ आफ्नो कला, मिहिनेत अनुसार तयार पारिएको सिर्जनालाई उनले दुई सयदेखि १० हजारसम्म बिक्री गरेकी छिन् ।  

चार्टर्ड एकाउण्टेण्ट अध्ययनरत उनकी छोरी समृद्धि पनि आमाको कला निकै सुन्दर हुने बताउँछिन् । ‘मम्मी निकै सिर्जनामा दत्तचित्त भएर काम गर्नु हुन्छ, कहिलेकाहाीं आर्ट सकिएपछि सुझाव पनि माग्नुहुन्छ, मेरो धारणा राख्छु, मम्मीको काम क्रियटिभ लाग्छ । अहिलेको समय ‘पर्फेक्ट युटिलाइजेशन अफ टाइम’ हो ।’

उनका सिर्जना अधिकांश प्राकृतिक एवं सांस्कृतिक विषयवस्तुसँग सम्बन्धित छ । छोरीलाई भने महिला हिंसाका विषयमा सन्देश दिने चित्र बढी मन पर्दाेरहेछ । छोरा समीप पनि भित्री बाहिर काममा सघाएर आमाको सिर्जनामा समय थपिदिन्छन् ।

तरकारी बारीमा रमाउन मन पराउने उनका श्रीमान् सत्यनारायणले पत्नीको मेहनत र सिर्जनाको आफू एक प्रशंसक भएको बताए । ‘उनको मेहनत लोभलाग्दो हुन्छ, उनले बनाएको चित्रहरु हेर्छु निकै राम्रो लाग्छ ।’
 

बिहीबार ८ जेठ २०७७ ०८:३४ PM मा प्रकाशित

प्रतिक्रिया