काठमाडौ । सञ्चालनमा रहेको खिम्ती जलविद्युत आयोजनाको स्वामित्व हस्तान्तरणका लागि संयुक्त कम्पनी गठन हुन लागेको छ । नेपाल विद्युत प्राधिकरणले निर्देशक वेलप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
शर्माको संयोजकत्वमा भएको समितिले हिमाल पावर लिमिटेडसंग आयोजनाको स्वामित्व हस्तान्तरण, कम्पनीको प्रवन्धपत्र नियमावली बनाउने काम गरिरहेको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
आगामी जुलाइ १० अर्थात असारदेखि ६० मेगावाटको खिम्ती आयोजनको आधा स्वामित्व हिमाल पावरबाट विद्युत प्राधिकरणमा आउने भएकाले संयुक्त कम्पनी गठनको काम सुरु भएको उनले सुनाए । आयोजनाको स्वामित्व हस्तान्तरण, आर्थिक विश्लेषण र विद्युत खरिदबिक्री सम्झौता (पीपीए) का लागि बेग्लै समिति गठन गरिएको उनले जानकारी दिए ।
खिम्तीको स्वामित्व हस्तान्तरण गर्न डिल्लीराज दाहालको संयोजकत्वमा गठन भएको समितिले काम गरिरहेको छ । यस्तै आयोजनाको वित्तीय विश्लेषणको काम प्रवन्धक जयराज भण्डारीको समितिले गरेको छ । पीपीएको काम प्रवत्ता अधिकारीको समितिले काम अघि बढाएको छ ।
संयुक्त कम्पनीले हिमाल पावरबाट खिम्तीको स्वामित्व लिने छ । त्यसपछि सो आयोजना विद्युत प्राधिकरण र हिमाल पावरको आधा स्वामित्व हुने छ । नाफा आधा बाँडिने उनले बताए ।
विद्युत प्राधिकरणले खिम्ती आयोजनासंग डलरमा पीपीए गरेको छ । जुलाइ ११ देखि आधा स्वामित्व विद्युत प्राधिकरणमा आउनुका साथै डलर पीपीएको म्याद सकिने छ । सस्तोमा पीपीए गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
हाल वर्षादको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसाँ र सुख्खाको ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा दर रहेको छ । गठन हुन लागेको संयुक्त कम्पनीसंग यो भन्दा पनि कम दरमा पीपीए गर्न लागेको अधिकारीको भनाई छ ।
खिम्ती आयोजनाबाट विद्युत प्राधिकरणले डलरमा महंगो बिजुली किन्दै आएको छ । रोयल्टी शुल्क समेत गरी खिम्तीको बिजुली प्रतियुनिट २१ रुपैयाँसम्म पुगेको अधिकारीले जानकारी दिए ।
सन २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो ।
प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ ।
विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टमात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ ।
खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) , नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो ।
विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर ११५ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।