काठमाडौं । सरकारले पर्यटन वर्ष २०२० मनाइरहँदा काठमाडौंका तारे होटलको अकुपेन्सी भने ७५ प्रतिशत खस्किएको छ । २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेर अघि बढिरहेको समयमा होटल बुकिङको अवस्था निरन्तर ओरालो लागिरहेको छ ।
व्यवसायीका अनुसार, काठमाडौैं म्यारियटमा अकुपेन्सी २५ प्रतिशतमा झरिसकेको छ । अन्य पाँच तारे होटलहरुको अवस्था पनि उस्तै रहको पर्यटन व्यवसायीहरु बताउँछन् । पाँचतारे होटलको अकुपेन्सी १० देखि १५ प्रतिशतमा सीतिम भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।
पर्यटन बर्षमा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ भने सोहि अनुसार व्यवसायीले पनि अर्बौै रुपैयाँ लगानी गरेर सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । ती होटलले सञ्चालन खर्च उठाउन पनि ४० प्रतिशत अकुपेन्सी हुनुपर्ने उनिहरुको भनाई छ । केहि होटलमा त अहिले १० प्रतिशतसम्म अकुपेन्सी दर झरेको व्यवसायीको भनाइ छ । ‘यसरी होटल सञ्चालन गर्न सकिँदैन्,’ एक व्यवसायीले भने ।
कोरोना आतङ्क चीनमा, होटल बुकिङ ‘क्यान्सिल’ नेपालमा
चीनमा महामारीकै रुपमा फैलिएको नोभेल कोरोना भाइरसको असर विश्वभर परेको र त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिन थालिसकेको छ । यद्यपि, नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका छैनन् ।
तर, सरकारले त्यसलाई राम्रोसँग बजारीकरण गर्न नसक्दा नेपाल आउन चाहने पर्यटकको सङ्ख्या दिन प्रतिदिन ओरालो लागेको होटल व्यवसायीहरु बताउँछन् ।
नेपाल सुरक्षित रहेको भनेर चीन बाहेकका देशलाई विश्वासमा लिन नसक्नु अहिलेको मुख्य समस्या हो । विश्वभरबाट चीनमा पनि पर्यटकहरु आउँछन्, उनीहरुले चीन जाने योजना एक वर्ष अघि नै बनाइसकेका हुन्छन् । यस्तो अवस्थामा चीन घुम्ने योजना बनाएका पर्यटकहरु अब त्यता जान सक्दैनन् । यस्तो बेला नेपालले मार्केटिङ गरेर चीन जाने योजना बनाएका पर्यटकलाई आकर्षित गर्न सकिने व्यवसायीको भनाइ छ ।
सरकारले आफ्ना कुटनीतिक नियोगमार्फत नेपाल कोरोनामुक्त देश हो भन्ने सन्देश फैल्याउनुपर्ने व्यवसायीहरु बताउँछन् । तर, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालयले यसमा कुनै चासो नदेखाएको व्यवसायीको आरोप छ । ‘आफ्ना संयन्त्र प्रयोग गरेर कोरोना नभएको सन्देश विश्वभर फैल्याउनुपर्ने हो,’ होटल एसोसिएसन अफ नेपालका एक सदस्यले भने, ।
चीन जाने योजना बनाएका पर्यटकलाई मात्रै नेपाल ल्याउने हो भने गुणस्तरीय पर्यटक पनि आउँछन्, र सरकारले लिएको लक्ष्य पनि भेटाउन सजिलो हुने उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस्
कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सको चीन उडान फ्रेब्रुवरी ६ देखी स्थगित
कोरना भाईरसबाट नेपाल सुरक्षित छ: पर्यटन मन्त्री भट्टराई