काठमाडौं । भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाले बैंकबाट ऋण लिएको महिनादेखि नै ब्याज तिर्ने भएको छ । नेपालमा जलविद्युत आयोजना बनाउन ऋण लिंदा निर्माण अवधिको ब्याज (आईडीसी) पछि साँवामा पुँजीकरण हुने गरेको छ ।
निर्माण अवधिभित्र बैंकलाई ऋणको ब्याज तिर्नुपर्दैन । विद्युत उत्पादन भएपछि ब्याज पनि साँवामा पुँजीकरण हुने गर्छ । किस्तावन्दीमा कर्जा तिर्न सुरु हुन्छ ।
तर, अरुण तेस्रो आयोजना बनाउन प्रर्वद्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले फरक मोडेल अपनाएको छ । उसले भारतीय र नेपाली बैंकहरुबाट गरी झण्डै १ खर्ब रुपैयाँ ऋण लिंदै छ । जसअनुसार नेपाली बैंकबाट १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लिने छ ।
यस्तै भारतीय बैंकबाट ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण सम्झौता अन्तिम चरणमा पुगेको छ । एसजेवीएनले स्वपुँजी (इक्विटी) का रुपमा २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।
एसजेवीएनले आयोजनाको काम नसकिंदै ऋण लिएको महिनादेखि ब्याज भुक्तानी गर्ने भएको हो । प्रोजेक्ट फाइनान्सिङ्गमा यो नयाँ मोडल भएको बैंकरले बताएका छन । अरुण तेस्रोले ऋण लिएको महिनादेखि नै नेपाली र भारतीय बैंकहरुलाइ ब्याज भुक्तानी गर्ने एसजेवीएन स्रोतले बतायो ।
सोही खाकाअनुसार ऋण सम्झौता हुन लागेको स्रोतको भनाई छ । सतलजको सहायक कम्पनी भएकाले निर्माणका बेलामा पनि बैंकहरुलाई मासिक ब्याज तिर्न समस्या नभएको एसजेवीएन स्रोतको भनाई छ ।
निर्माणको चरणमा महिनैपिच्छे ब्याज भुक्तानी गरे सस्तो पर्नुका साथै दायित्व पनि कम हुने स्रोतको भनाई छ । आयोजनाको लागत कम गर्न यस्तो मोडालिटी अपनाइएको स्रोतले जानकारी दियो । भारतमा यो मोडालिटी रहेको छ ।
एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैंकबाट अपुग ऋण (ब्रिज लोन) लिंदै छ । आयोजनाको लागत बढ्न सक्ने संभावित अवस्थालाई हेरेर ऋण लिन लागेको हो ।
भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई) का अतिरित्त, पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट ऋण लिंदै छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिदैं छ । भारतीय र नेपाली बैंकसंग एसजेवीएनले् एकसाथ ऋण लगानी सम्झौता गर्ने छ ।
ऋणको ब्याज साढे ८ प्रतिशत छ । हाल राष्ट्र बैंक र लगानी बोर्डबीच छलफल जारी छ । एसबीआई त्यहाँको सरकारी बैंक हो । भारुमा ऋण ल्याउन भारतीय रिजर्व बैंक (आरबीआई) ले अनुमति दिइसकेको छ । हालसम्म आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैंकहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैंसँग ऋण सम्झौता भइसकेको छ । एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।