काठमाडौं । कर्मचारी सञ्चय कोषले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत २० ओटा कम्पनीमा सेयर लगानी गरेको छ ।
सञ्चय कोषले बैङ्क तथा वित्त, बिमा र जलविद्युत गरी २० कम्पनीमा विभिन्न समयमा गरी झण्डै साढे ७ अर्ब रुपैयाँको सेयर लगानी गरेको छ । राम्रो प्रतिफल दिने कम्पनीमा सेयर लगानी गरेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए ।
कोषले नेप्सेमा सुचिकृत भएका १६ र सुचिकृत नभएका ४ कम्पनीमा सेयर लगानी गरेको छ । गत वर्ष मात्रै सानिमा, सिभिल, नेपाल बैङ्कमा संस्थापक सेयर खरिद गरेको छ ।
भदौमा मात्रै कोषले नेप्सेको ५ लाख कित्ता सेयर खरिद गरेको छ । कोषले बैङक अफ काठमाण्डु लिमिटेड, सेञ्चुरी कमर्शियल बैङ्क, देव विकास बैङ्क, हिमालयन बैङ्क, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, महालक्ष्मी विकास बैङ्कमा लगानी गरेको छ ।
यस्तै प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु बैङ्क, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, नेपाल एसबीआई बैङ्क, सिन्धु विकास बैङ्क, सनराइज बैङ्कको सेयर खरिद गरेको छ ।
नेप्सेमा सुचिकृत नभएका र भरखरै स्थापना भएका विद्युत उत्पादन कम्पनी लिमिटेड र वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि सेयर लगानी गरेको छ ।
सिटिजन्स बैङ्कको सहायक सीबीआइएल क्यापिटल लिमिटेडको १५ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । सुचिकृत १६ कम्पनीमा ६ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै नेप्सेमा सुचिकृत नभएका ३ ओटा संस्थामा ४६ करोड ९२ लाख रुपैयाँ सेयर लगानी गरेको छ ।