काठमाडौं । भारतले ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाकाे निर्माणकाे जिम्मा सतलज जलविद्युत् निगम लिमिटेडलाई दिन दबाब दिएकाे छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगको भेटमा भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले तल्लो अरुण सतलजलाई बनाउन दिने प्रस्ताव गरेका हुन् ।
राजधानीकाे हाेटल द्धारिकाजमा भएको दुई मन्त्रीबीचको छलफलमा राज्यमन्त्री सिंहले तल्लो अरुण आयोजना भारतले बनाउन पाउनुपर्ने अडान राखेका थिए ।
९०० मेगावाटको अरुण तेस्रो आयोजना सतलजले निर्माण गरिरहेकाले लागत र समय कम लाग्ने, आयोजना निर्माणको पूर्वाधार तयार भइसकेकाले मोडालिटिमा छलफल गरेर सतलजलाई आयोजना बनाउन दिन भारतीय ऊर्जा राज्यमन्त्री सिंहले दबाब दिएकाे स्रोतले बतायो ।आयोजनाको जिम्मा दिएमा सतलजले तत्काल काम सुरु गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।
ऊर्जामन्त्री पुनले यस विषयमा नेपाल सरकार सकरात्मक भएको बताए । उनले यस विषयमा थप छलफल गरेर निर्णयमा पुग्ने जानकारी राज्यमन्त्री सिंहलाई गराए । तल्लो अरुणका लागि लगानी बोर्डमा ३ ओटा प्रस्ताव परेको र यसमध्य एउटा भारतीय कम्पनीको पनि रहेको उनले सिंहलाई जानकारी गराएका थिए ।
सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको सुरुङ्गबाट आउने पानी सिधैँ तल्लो अरुणको सुरुङ्गमा लैजान सकिने छ । यसअघि भारतले तल्लो आयोजना बनाउन प्रस्ताव गरिसकेको थियो । सतलज सरकारको कम्पनी हो ।
यसअघि ऊर्जाले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) लाई तल्लो अरुणमा लगानी जुटाएर बनाउने जिम्मेवारी दिएको थियो ।
मन्त्रालयबाट अनुमति पाएपछि एचआईडीसीएलले पावर चाइना कर्पोरेसनसँगको साझेदारीमा आयोजना बनाउन गत पुसको अन्तिम साता अर्थात जनवरी १४ मा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो । पावर चाइनाको ८० र २० प्रतिशत एचआईडीसीएलको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
चिनियाँ कम्पनीलाई तल्लो अरुणको लाइसेन्स दिन डराए प्रधानमन्त्री,अन्योलमा आयोजना
पावर चाइनासँग एमओयू भएपछि स्वीकृतिका लागि एचआईडीसीएलले लगानी बोर्डमा पेश गरेको थियो । बोर्डका अध्यक्ष प्रधानमन्त्री ओली हुन । पावर चाइना र एचआईडीसीएलबीच भएको एमओयूको सूचना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुगेपछि हलचल भएको थियो ।
भारतीय पक्षले आयोजना आफूले बनाउने दाबी गरेपछि लगानी बोर्डपछि हटेको स्रोतको भनाइ छ । लगानी बोर्डमा पठाएको लामो समय बितिसक्दा पनि आयोजनाको विषयमा निर्णय हुन सकेको छैन । आयोजना बनाउन १ खर्ब २८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये ३८ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) र बाँकी ऋण लगानी हुनेछ ।
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर विद्युत उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलिमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ ।