काठमाडौं । जलविद्युत् विकासमा चिनियाँ लगानी भित्राएको बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले साना ठूला गरी झन्डै एक दर्जन जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । बीपीसीले चिनियाँ कम्पनीहरुको साझेदारीमा १ हजार ८६० मेगावाटका १० जलविद्युत् आयोजना निर्माणको तयारी थालेको छ । बीपीसीले ८ ओटा आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) तयारीको काम गरिरहेको छ ।
बीपीसीले आफ्नो लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी सन् २०२० को अन्त्यसम्म न्यादी आयोजना सम्पन्न हुने छ । यस्तै बीपीसीले प्रतिस्पर्धाबाट पाएको ३७.४ मेगावाट क्षमताको काबेली–ए आयोजना ठेक्कामा समस्या आएपछि काम अवरुद्ध छ ।
बीपीसीले ३ ओटा चिनियाँ कम्पनीको साझेदारीमा नेपालमा जलविद्युत् विकास गर्न एससीजीआई इन्टरनेसनल हाइड्रो डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेको छ । यसमा बीपीसीको १९ प्रतिशत स्वामित्व छ । बाँकी ८१ प्रतिशत ३ ओटा चीनियाँ कम्पनीको छ ।
बीपीसी र ३ चिनियाँ कम्पनीले ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने र यसका लागि २ खर्ब रुपैयाँ चिनियाँ लगानी नेपाल ल्याउने सम्झौता भएको छ ।
बीपीसीले १४० मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री (पीपीए) सम्झौताको प्रतीक्षामा रहेको बीपीसीले जनाएको छ ।
यस्तै ८.५ मेगावाटको चिनोखोला आयोजना पनि बीपीसीले निर्माण गर्न लागेको हो । १६० मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजना बनाउन मन्त्रालयले बीपीसीलाई सर्वेक्षण लाइसेन्स दिएको छ । यसको सम्भाव्यता अध्ययन जारी रहेको बीपीसीले जनाएको छ ।
यस्तै २८२ मेगावाटको मनाङ मर्स्याङ्दी अपर, १४० मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी मिडिल र ६०० मेगावाटमा माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजना एससीजीआईको साझेदारीमा निर्माण गर्ने भएको हो । २८२ मेगावाटको मनाङ मर्स्याङ्दी अपर नेपाली र मस्र्याङ्दी २ अयोजना भारतको जीएमआर इनर्जी लिमिटेडबाट खरिद गरेको हो ।
मर्स्याङ्दी २ आयोजनाभन्दा तल रहेका ३ ओटा आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययन अघि बढाएको बीपीसीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । जसअनुसार क्यासकेड आयोजनाको क्षमता १३५, १३९ र ३२७ मेगावाट छन् । आयोजनाको काम निरन्तर अघि बढिरहेको र विद्युत् प्राधिकरणसँग पीपीए भएपछि अघि बढ्ने बीपीसीले जनाएको छ ।
बीपीसीले १२ मेगावाटको झिम्रुक, ९ मेगावाटको आँधिखोला र ४ मेगावाटको खुदीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यसबाहेक १ मेगावाटको तिनाउ आयोजना र ६० मेगावाटको माथिल्लो खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । खिम्तीबाट बीपीसीले वार्षिक ५० देखि ६० करोड रुपैयाँ नगद लाभांश पाउँदै आएको छ ।
गत वर्ष बीपीसीले ७७ करोड रुपैयाँ खुदनाफा गरेको छ । बीपीसीले बर्सेनि २५ प्रतिशतका दरले सेयरधनीलाई लाभांश दिँदै आएको छ । बीपीसीको चुक्तापुँजी २ अर्ब ४४ करोड रुपैयाँ छ ।