कार्यसञ्चालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँच ओटा नेपाली संस्थाबीच सहकार्य सम्झौता
काठमाडौं । विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किङ्स कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ । निजी कम्पनी एवम् सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रवर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्न यो विषय विश्वप्रख्यात छ ।
काठमाडाैंमा आयोजित एक समारोहबीच उक्त सम्झौताको घोषणा भएको हो ।
हालसम्म विश्वको १६ ओटा राष्ट्रमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवम् सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्थाहरुले भोगिरहेको वा भविष्यमा भोग्न सक्ने समस्याहरुको पहिचान तथा उपायको खोजी गर्छ ।
डेमोला ग्लोबलका अनुसार निजी कम्पनी एवम् सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुको समस्यामा उक्त संस्थाको कर्मचारी तथा विद्यार्थीहरु मिलेर आठ हप्तासम्म काम गर्छन्, जसको पहिलो चरणमा कम्पनी वा संस्थाहरुको समस्याहरुको पहिचान हुन्छ भने दोस्रो चरणमा सो समस्याको सम्भाव्य नवीन र सिर्जनात्मक समाधानका विकल्पहरुको खोजी गरिन्छ ।
किङ्स कलेजले दिएको जानकारीअनुसार कार्यसञ्चालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँच ओटा नेपाली संस्थाबीच सहकार्य सहमतिमा हस्ताक्षर भएको छ । यसरी सम्झौता गर्ने संस्था अन्नपूर्ण मिडिया नेटवर्क, यङ इनोभेसन, काठमाडांै महानगरपालिकाको सहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्प हुन् ।
‘यस प्रयासले हाल विद्यमान नेपाली शैक्षिक संस्था तथा समाज एवम् सरोकारवाला संस्थाबीचको दूरी कम गर्न सहयोग पुग्ने विश्वास लिएका छांै,’ कलेजका प्राचार्य नरोत्तम अर्यालले भने ।
‘युरोपका विभिन्न देश तथा जापान र चीनमा समेत सफलता हासिल गरिसकेको डेमोलामार्फत नेपालमा पनि निजी कम्पनी तथा सार्वजनिक क्षेत्रको समस्या समाधान गरी उनीहरुको भविष्यको सम्भावनाको ढोका खोल्न विद्यार्थी र औद्योगिक क्षेत्रबीच संयुक्त प्रयास र ज्ञानको आदानप्रदानको संस्कृति निर्माण हुनेमा हामी विश्वस्त छांै,’ अर्याल थप्छन् ।
डेमोलाका अनुसार विद्यार्थी र सम्बन्धित कम्पनी वा संस्थाको कर्मचारीबाहेक यस परियोजनामा डेमोला ग्लोबलका विज्ञ तथा विश्वविद्यालयका प्राध्यापकहरुले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।
‘किङ्स कलेजसँगको साझेदारीमा डेमोला ग्लोबललाई नेपालमा भित्र्याउन पाउँदा हामी धेरै हर्षित छांै । यस साझेदारीसँगै हामीले हाम्रो विश्वव्यापी सञ्जाललाई थप बलियो बनाउँदै नेपाली समाज, कम्पनी तथा संस्थाहरुको लागि ज्ञान, अनुभव तथा समस्या समाधानको संयुक्त पहलको विधिलाई नेपालमा चिनाउन पाउने छांै,’ डेमोला ग्लोबलको उपाध्यक्ष पेका सिल्भन भन्छन् ।
उनका अनुसार यति मात्र नभएर नेपाली विद्यार्थीहरुले डेमोला ग्लोबल सञ्चालन भएका अन्य राष्ट्रमा गएर पनि काम गर्न पाउनेछन् भने अन्य राष्ट्रका विद्यार्थीहरुले पनि नेपालमा आएर योगदान पु¥याउन सक्नेछन् ।
परियोजनाबाट लाभ लिन कम्पनी वा संस्थाहरुले वर्षको चार पटक आवेदन दिन सक्नेछन् भने डेमोला नेपालले एक पटकमा जम्मा पाँच ओटा कम्पनी वा संस्थाहरुलाई मात्र समावेश गर्नेछ ।