काठमाडौं । मुलुक सङ्घीय संरचनामा गएसँगै नेपाल विद्युत् प्राधिकरणले मुलुकभर रहेका आफ्ना कार्यालय पनि सोहीअनुसार समायोजन गरेको छ ।
प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रलाई समायोजन गरेको हो । क्षेत्रीय कार्यालयको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ ।
अब ७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने छन् । यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौँडा र नेपालगन्जलाई प्रदेश नम्बर क्रमशः तीन र पाँचको डिभिजन कार्यालयमा परिणत गरिएको छ ।
यसअघि प्रदेश नम्बर ३ मा काठमाडौँ तथा हेटौँडा र प्रदेश नम्बर पाँचमा बुटवल तथा नेपालगन्जमा क्षेत्रीय कार्यालय थिए ।
प्राधिकरण सञ्चालक समितिको १८ पुस २०७५ को ७८३ औँ बैठकले क्षेत्रीय कार्यालय र त्यसमातहतका वितरण केन्द्रलाई मुलुकको सङ्घीय संरचनाबमोजिम सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले बुधबार परिपत्र जारी गर्दै कार्यालय समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो । प्रदेश नं १ को प्रदेशिक कार्यालय, विराटनगर अन्तर्गत २४ वितरण केन्द्र रहेका छन् ।
यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर, ओखलढुङ्गा र दिक्तेल वितरण केन्द्रलाई १ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।
प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्र रहेका छन् । यसअघि हेटाैँडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका वीरगन्ज, सिमरा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।
प्रदेश नं ३ को काठमाडौँ प्रादेशिक कार्यालय र हेटाँैडा डिभिजन कार्यालयअन्तर्गत क्रमशः २० र ६ वितरण केन्द्र राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौँडा डिभिजन कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।
गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ ओटा वितरण केन्द्र रहने छन् । यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।
त्यस्तै प्रदेश नं ५ को बुटवल प्रादेशिक र नेपालगन्ज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमशः ११ र १० वितरण केन्द्र रहने छन् । कर्णालीको सुर्खेत र सदूरपश्चिमको अत्तरिया प्रादेशिक कार्यालयअन्तर्गत क्रमशः १० र १२ वितरण केन्द्रहरु छन् ।