काठमाडौं । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क भएको छ ।
राष्ट्रिय वाणिज्यले २७ ओटा वाणिज्य बैङ्कलाई पछि पार्दै सबैभन्दा बढी नाफा गरेको छ । गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्यले ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा हालसम्मकै उच्च हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष राष्ट्रिय वाणिज्यले नाफा ४५.६१ प्रतिशत बढाएको छ । अघिल्लो वर्ष बैङ्कले ३ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
१ वर्षमा बैङ्कले १ अर्ब ६५ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको बिहीबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।
बैङ्कको खुद ब्याज आम्दानी १० अर्ब २२ करोड ९५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कको ब्याज आम्दानी ९ अर्ब ११ करोड ४२ रुपैयाँ थियो ।
गत वर्ष बैङ्कले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४४ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
राष्ट्रिय वाणिज्यपछि बढी नाफा गर्नेमा सरकारी स्वामित्वकै अर्को बैङ्क कृषि विकास बैङ्क भएको छ । कृषि विकासले गत वर्ष नाफा १९ प्रतिशत बढाएको छ ।
गत आर्थिक वर्षमा कृषि विकासले ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।
६९ करोड ९७ लाख रुपैयाँ नाफा बढेको देखाएको छ । कृषि विकासले सेयरधनीलाई लाभांश बाँड्ने क्षमता ३ अर्ब ३१ करोड रुपैयाँ छ ।
यस्तै निजी क्षेत्रको नविल बैङ्क नाफा गर्नेमध्ये तेस्रो स्थानमा छ । नविलले गत वर्ष नाफा ७.८५ प्रतिशत मात्र बढाएको छ ।
गत वर्ष नविलले ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नवीलले ३ अर्ब ९८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।
गत वर्ष नविलले ३१ करोड २२ लाख रुपैयाँ मात्र नाफा बढाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ अर्ब १८ करोड ४६ लाख रुपैयाँ लाभांश वितरण गर्न सकिने नविलले जानकारी दिएको छ ।