काठमाडौं । एयर एसिया थाइलाई उडान अनुमति दिने वा नदिने भन्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले कानुनी परामर्श सुरु गरेको छ ।
क्यानका निमित्त महानिर्देशक राजन पोखरेलले एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम बक्यौता राखेको कारण एयर एसिया थाइलाई अनुमति दिन सकिन्छ वा सकिन्न भन्ने विषयमा परामर्श सुरु गरिएको जानकारी दिए ।
‘एयर एसिया र एयर एसिया थाई भगिनी संस्था हो वा हैन भन्ने टुंगो लगाएपछि मात्र अनुमतिको लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने छ’, निमित्त महानिर्देशक पोखरेलले भने, ‘यदि एकै संस्था हो भने बक्यौता रकम नतिरेसम्म अनुमति दिदैनौँ ।’
एयर एसियाले झन्डै १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । ‘एयर एसियाको सिस्टर कम्पनी एयर एसिया थाई हो । बक्यौता बाँकी रहँदै एयर एसियाले नेपाल उडान बन्द गरेको थियो । एयर एसिया मलेसियाले बक्यौता रकम आफैँले तिर्ने सहमति गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले एयर एसियाको जहाज नेपालबाट जान दिएको थियो ।
नेपालस्थित मलेसियाको दूतावासले मध्यस्थता गरेपछि एयर एसियाले बक्यौता रकम नतिरी नेपाल छाडेको थियो । एयर एसिया बन्द भएपछि एयर एसिया थाई नेपाल ल्याउने पहल भएको हो ।
नेपालमा एयर एसिया थाईको जनरल सेल्स एजेन्टको काम विशाल गु्रपले लिएको छ । एयर एसिया थाईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलबाट सञ्चालन अनुमति दिएपछि सेल्स एजेन्टले विशाल ग्रुपले जेठ २ गते क्यानमा उडान अनुमतिका लागि निवेदन दिएका थिए ।
आगामी जुलाईबाट नियमित उडान गर्ने गरी उडान अनुमति मागेको हो । एयर एसिया थाईले नेपालमा अगष्टमा साताको चार दिन र त्यसपछि सातै दिन उडान गर्ने तयारी गरेको छ ।
यो पनि पढ्नुहोस् ।