काठमाडौं । मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्शी शिवमले आफ्नो उत्पादन दोब्बर बनाउने भएको छ । हाल दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको होङ्शी शिवमले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने तयारी थालेको हो ।
उद्योगले सञ्चयकोषबाट २ अर्ब रुपैयाँ ऋण लिएर सिमेन्टको क्षमता दोब्बर बनाउन लागेको हो । अगुवा बैङ्क एनएमबीको आग्रहमा सञ्चय कोषले होङ्सी शिवमको क्षमता विस्तारका लागि ऋण लगानी गर्न लागेको कोषका वरिष्ठ प्रबन्धक अर्जुनकुमार गौतमले बताए । तर, सञ्चालक समितिबाट स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए । ‘एनएमबीले पैसा मागेको छ, हामी छिट्टै निर्णय गर्ने छौं’ उनले क्यापिटल नेपालसँग भने ।
आवश्यक पर्ने ५० मेगावाट ऊर्जामध्ये उद्योगले सिमेन्ट बनाउँदा निस्कने धूलोबाट १२ मेगावाट बिजुली आफै उत्पादन गरिरहेकाले बिजुली खर्च जोगिएको र ठूलो परिमाणमा उत्पादन गर्ने भएपछि लागत पनि सस्तो पर्ने देखिएको उनको भनाइ छ । चिनियाँ कम्पनीले १४ अर्ब रुपैयाँ लगानी गरिसकेको गौतमले जानकारी दिए ।
गत भदौ १८ गते एनएमबीले सिमेन्ट उद्योगको क्षमता विस्तार गर्नका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरिसकेको छ । एनएमबीको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट, प्रभु, एभरेष्ट र नेपाल एसबीआई बैङ्कले ऋण लगानीको सम्झौता गरेका थिए । लगानी नपुग्ने भएपछि एनएमबीले सञ्चय कोषलाई अनुरोध गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउन उद्योगलाई स्वीकृति दिइसकेको छ । ७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैङ्क अफ चाइना र मिङसेङ बैङ्कले दिएका छन् ।
नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि उद्योगले ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख डलर) लगानी गर्ने छ । उद्योगको खानी पाल्पाको ज्यामिरेमा छ ।
चीनको होङशी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट थ्री लिमिटेडको लगानी छ । उद्योगमा नेपालको व्यावसायिक समूह शिवम् होल्डिङ्सको ३० र होङशीको ७० प्रतिशत लगानी छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ ।
उद्योगसँग १३ करोड टन उच्च गुणस्तरको आफ्नै चुनढुङा खानी छ । उद्योगले ६ सेट हबल स्वचालित प्याकेजिङ मेसिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेसिन जडान गरेको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ ।
बजारमा खरो प्रतिस्पर्धीको रुपमा उदाएको होङ्शी शिवमले सिमेन्ट तथा क्लिङ्करको मूल्यसमेत घटाएको छ ।