×

कतारमा विश्वकप फुटबल ‘हेर्न’ जान नेपालबाट ५ हजार हवाई टिकट बुकिङ

images

काठमाडौं । खाडी मुलुक कतारमा आगामी मंसिर ४ बाट आयोजना हुने ‘विश्वकप फुटबल’ प्रत्यक्ष हेर्ने चाहना कसको नहोला । कतारका रंगशाला पुगेर विश्वकप फुटबल ‘हेर्न’ नेपालीको ठूलो समूहले हवाई टिकट बुकिङ गरेको छ ।

कतारमा आयोजना हुन लागेको २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रत्यक्ष हेर्न करिब ५ हजार नेपालीले हवाई टिकट बुकिङ गरेको सम्बद्ध वायुसेवा र ट्राभल कम्पनीले जानकारी दिएका छन् ।

काठमाडौंस्थित कतार एयरवेज कार्यालयका अनुसार टिकट बुकिङ गरेका नेपालीको संख्या ३ हजारहाराहारी पुगिसकेको छ । त्यसैगरी सरकारी कम्पनी नेपाल वायुसेवा निगम र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सबाट बुकिङ गर्ने २ हजारजति पुगेका छन् ।

‘विश्वकप फुटबल आयोजना हुने मिति राखेर हालसम्म ५ हजार नेपालीले हवाई टिकट बुकिङ गरेको पाइएको छ,’ एक ट्राभल कम्पनीका सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘हाम्रो अनुमानमा ५ हजार टिकट बुकिङ गरेकामध्ये अधिकांश विश्वकप फुटबल हेर्न जाने नै हुन् ।’

नेपाल वायुसेवा निगम, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौंबाट कतारको दोहाका लागि नियमित यात्रुवाहक उडान गरिरहेका छन् । विश्वकप फुटबल आयोजना मिति वरिपरिको टिकट बुकिङ भएकाले यात्रुको उद्देश्य उतै गएर प्रत्यक्ष फुटबल हेर्ने नै रहेको ती कम्पनीको दाबी छ । 

‘तीमध्ये केही कामदार वा विद्यार्थी होलान् तर बाँकी सबैले विश्वकफ फुटबल हेर्न जानकै लाग टिकट बुकिङ गरेको हाम्रो बुझाइ छ,’ एक अन्तर्राष्ट्रिय वायुसेवाका अधिकारीले भने ।

फुटबलप्रेमी नेपालीलाई कतारमा विश्वकप आयोजना हुनु नै सुखद खबर हो । नेपालबाट साढे चार घन्टाको हवाई दुरीमा रहेको कतार पुग्न हवाई भाडा पनि ‘सस्तो’ रहेको छ । भलै, विश्वकप आयोजनाका कारण भाडा महँगो भने भएको छ । 

कतार एयरवेजका अनुसार भदौ १३ (अगस्ट २९) सम्ममा ३ हजारभन्दा बढीले टिकट बुकिङ गरेका छन् । यो संख्या अझै बढ्न सक्ने अनुमान छ । 

नेपाल वायुसेवा निगमले पनि ६० प्रतिशतभन्दा बढी सिट बुकिङ भइसकेको जनाएको छ । 

निगम प्रवक्ता अर्चना खड्काले विश्वकप फुटबल सिजनमा कतार जान चाहने यात्रु बढ्न सक्ने बताइन् । ‘अहिलेको बुकिङ ट्रेन्ड हेर्दा संख्या अझै बढ्ने देखिन्छ,’  खड्काले भनिन् ।

उता, हिमालय एयरलाइन्सले पनि नोभेम्बरदेखि डिसेम्बरसम्मका उडानमा राम्रो बुकिङ रहेको जनाएको छ । 

‘धेरै नेपाली फुटबलप्रेमीले कतार र उसको छिमेकी दुबईमा बस्न होटल बुकिङ पनि गरिसकेका छन्,’ ट्राभल कम्पनी इजी ट्रिपका सञ्चालक सुदेश गौतम क्षेत्रीले भने, ‘केही भने हवाई टिकट र होटल बुकिङको तयारीमा लागेका छन् । कतारमा सीमित होटल भएकाले फुटबल हेर्न पुग्ने सबै त्यहाँ अट्न सक्ने अवस्था छैन ।’

गौतमका अनुसार पछिल्लोपटक विश्वकप फुटबल हेर्न जान नेपालबाट पनि धेरैले तयारी गरिरहेका छन् । नेपाली खेल हेर्न कतार जान चाहे पनि सीमित वायुसेवा र उता होटल नपाउने समस्याका कारण वञ्चित हुने अवस्था आउन थालेको छ । 

‘विदेशीभन्दा नेपाली यस्ता विषयमा योजना बनाउन ढिलाइ गर्छन। अब गर्ने बुकिङले खेलको टिकट पाउनै समस्या हुने देखिएको छ,’ उनले भने ।

कतार पुग्ने लाखौं दर्शकलाई होटल समस्या

विश्वकप फुटबल प्रत्यक्ष हेर्न लाखौं फुटबलप्रेमी कतार पुग्दैछन् । फुटबल आयोजनाका लागि कतारले सबै तयारी भने पूरा गरिसकेको छ । अहिले कतारले त्यहाँका सर्भिस अपार्टमेन्ट, निजी घरलाई पनि भाडामा लिएर होटलका रूपमा व्यवस्थापन गरिरहेको छ । 

एकैचोटि लाखौं मानिस कतार उत्रिने भएका कारण तिनलाई बासको व्यवस्था गर्न कतारले छिमेकी युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा होटल व्यवस्था गरेको छ । 

दुबईका होटलमा फुटबलप्रेमी बस्नेछन् । कतारको राजधानी दोहाबाट दुबई एक घन्टा हवाई दुरीमा छ । दुई देशबीचको सहमतिमा दर्शकलाई कतार–दुबई आवतजावतमा सहजीकरण गरिने छ । त्यसका लागि एक किसिमको ‘टोकन’ बनाइएने र त्यसैका आधारमा जुनसुकै बेला दोहा–दुबई–दोहा उडान गर्न सकिने छ । 

योसँगै दुबई यात्रासमेत महँगो भएको छ । कतार जानेहरू रात बिताउन दुबई जानुपर्ने भएपछि दुबई सरकारले पर्यटकबाट थप ‘सरचार्ज’ लिने निर्णय गरेको छ । उक्त निर्णयको अहिले विरोध भइरहेको छ । 

दुबई सरकारको निर्णयअनुसार दुबईका होटलमा बस्न जानेले प्रतिव्यक्ति प्रतिरात  ३ सय दिराम (१० हजार ४ सय ५० रुपैयाँ) तिर्नुपर्छ । जसका कारण अन्य समयभन्दा अहिलेको यात्रा महँगो हुनेछ । 

सरचार्जबारे चौतर्फी विरोध भएपछि दुबई सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न दबाब भने परेको छ ।

काठमाडौंबाट उडान थप्दै कतार एयरवेज

कतार एयरवेजले यात्रु चाप हेरेर विश्वकप फुटबल सिजनमा नेपालबाट उडान दोब्बर गर्ने घोषणा गरेको छ । मंसिर नेपालबाट राम्रो बुकिङ भएकाले नेपाल आउने पर्यटक संख्या बढ्ने संकेत देखिएपछि उडान संख्या दैनिक एकबाट दुई गर्न लागिएको एयरवेजले जनाएको छ।  

यसअघि कतार एयरवेजले विश्वकप सिजनमा नेपालबाट हुने उडान कटौती गरेर दैनिक एकमात्र गर्ने घोषणा गरेको थियो । एयरवेजले आगामी  डिसेम्बर २० बाट काठमाडौं–दोहा रुटमा दैनिक दुई उडान गर्ने छ ।
 

बुधबार १५ भदौ २०७९ ०७:१७ AM मा प्रकाशित

प्रतिक्रिया