बुधबार, कात्तिक ३ २०७८ १०:२५ AM

×

एक महिनामै ३६५ करोडको पाम आयल र भटमासको तेल निकासी 

images

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट साउनमा मात्रै ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको पाम आयल र भटमासको तेल निकासी भएको छ । २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल र ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निकासी भएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।  

उनका अनुसार भन्सारबाट चालू आर्थिक वर्ष साउन ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निकासी भएको छ । यसबीचमा ४३ लाख २३ हजार ६२४ लिटर पाम आयल निकासी भएको यादवले बताए । 

भारतले नेपालबाट पाम आयल निकासीमा ०७७ वैशाख २९ गतेदेखि रोक लगाएको थियो । करिब १४ महिनापछि २०७८ असार १७ गते भारतले पाम आयलको आयात खुला गरेको थियो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै विराटनगर नाकाबाट पाम तेलको निकासीको थालनी भएको हो । 

विराटनगर नाकाबाट आर्थिक वर्ष ०७५/०७६ मा ४ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको ४१ हजार ३५७ टन पाम आयल भारत निकासी भएको भन्सार कार्यालयको तथ्यांक छ । 

पाम आयलको निकासी बन्द भएपछि भटमासको प्रशोधित तेल बढी मात्रामा निकासी भइरहेको थियो ।  पाम आयलको निकासी खुला भएसँगै व्यापारीहरूले भटमासको तेललाई असर गर्ने बताइरहेका थिए । तर, भटमासको प्रशोधित तेललाई साउन महिनामा असर गरेको देखिँदैन । 

साउनमा २ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ७५ हजार १११ केजी भटमासको प्रशोधित तेल भारत निकासी भएको छ । त्यसैगरी विराटनगर भन्सार कार्यालयले दिएको तथ्यांकअनुसार ६० लाख ४३ हजार ७९२ लिटर अर्थात ८० करोड १० लाख ९१ हजार ८९३ रुपैयाँ बराबरको पाम तेलको कच्चा पदार्थ आयात भएको छ । 

त्यस्तै २ अर्ब ७४ करोड ६२ लाख ३१ हजार ९१ रुपैयाँ बराबरको १ करोड ७१ लाख ४० हजार लिटर भटमास तेलको कच्चा पदार्थ आयात भएको कार्यालयले जानकारी दिएको छ । 

भटमासको तेलको निकासी बढिरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ मा विराटनगर नाकाबाट १ अर्ब ६ करोड ५५ लाख रुपैयाँको ९ हजार ९ सय ९३ टन भटमासको तेल निकासी भएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा ४ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ हजार ४२३ टन भटमासको तेलको निकासी गरिएको विराटनगर भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । 

आर्थिक वर्ष ०७७/०७८ मा १५ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ बराबरको ९० हजार ३ सय १० टन भटमासको तेलको निर्यात भएको थियो । भटमासको तेल भारतका महाराष्ट्र, राजस्थान र दिल्लीजस्ता टाढाका राज्यमा निर्यात गरिने विराटनगरका उद्योगीले बताएका छन् । पाम आयलको मुख्य बजार नजिकैका विहार र पश्चिम बंगाल राज्य रहेको उनीहरूको भनाइ छ । 

जोगबनी नाकाबाट मोरङ–सुनसरीका उद्योगले सूर्यमुखीको तेल पनि निर्यात गरिरहेको उद्योगीको भनाइ छ । सूर्यमुखीको तेलको माग उडिसा, तमिलनाडु, इन्दौर र मध्यप्रदेश लगायतका भारतका मध्य र दक्षिणी भागमा रहेको उनीहरूको भनाइ छ । 

नेपालका उद्योगीहरूले सूर्यमुखी, भटमास र पाम तेलको निकासी साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा गरिरहेका छन् । भारतीय भन्सारले तीन थरीकै तेलमा ५ प्रतिशत जीएसटी भने लिइरहेको छ ।

सोमबार १४ भदौ २०७८ ०५:०९ PM मा प्रकाशित

प्रतिक्रिया