काठमाडौं । आर्थिक वर्ष ०७८/०७९ को बजेट युवा केन्द्रित देखिएको छ । आर्थिक अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा शैक्षिक कर्जा दिनेदेखि रोजगारी र तालिमका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म व्यावसायिक कर्जा, स्टार्टअप बिजनेस कर्जा दिनेदेखि विद्यार्थीहरुका लागि ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म कर्जा दिने विषय बजेटमा समावेश भएको छ ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउपुँजी कर्जा उपलब्ध गराइने उल्लेख छ ।
यस्तै स्टार्टअप व्यवसायको दर्ता, नविकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलव्ध गराउने र स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने जनाएको छ। यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फन्ड स्थापना समेत गरिएको छ ।
स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराइने भएको छ ।
श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न हस्तकला, प्लम्बिङ्ग, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालिगढ, सिकर्मी, डकर्मी, सिलाइ कटाइ, ब्युटिसियन, कपाल कटाइ, सवारी साधन तथा मोबाइल मर्मतलगायतका व्यवसायमा थप १ लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्वदेशी उद्योगको आवश्यकता अनुरुपको सीपयुक्त जनशक्तिको विकास गर्न निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलव्ध गराई कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न १ अर्ब रुपैयाँ छुट्याइएको छ ।
यसअन्तर्गत तालिम प्राप्त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिई सोही उद्योगमा न्यूनतम १ वर्षको रोजगारी सुनिश्चित गर्ने व्यवस्था मिलाइनेछ । यस कार्यक्रमबाट आगामी वर्ष थप २५ हजार रोजगारी सिर्जना हुनेछ ।
सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म दुईवर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
१६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराइने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न विभिन्न सीपमूलक तालिम प्रदान गर्न १ लाख युवाका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारिता वृद्धि गर्ने, कृषि बाली,मत्स्य र पशुपन्छी उत्पादन लगायतका थप ७१ जोन सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराउन कृषि विषयमा स्नातक तहमा अध्ययनर ३ सय विद्यार्थीलाई इन्टरनको रुपमा खटाइनेछ । सो परियोजनाका लागि ७ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ।