×

सीमित ट्राभलका रजगजले नेवानिमा थाइल्यान्ड र जापानको टिकट ‘छैन’

images

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का जहाज चढेर थाइल्यान्ड र जापान जान चाहनुहुन्छ ? अहिलेलाई यात्रा थाँती राख्नुस् । किनभने, ती गन्तव्य जान नेवानिमा टिकट पाउन लडाइँ जितेसरह हुन थालेको छ । 
निगम कर्मचारीहरूले सीमित ट्राभल एजेन्सीका ‘प्रभाव’ मा परेर थाइल्यान्ड र जापानको टिकट लुकाउने गरेको गुनासो बढिरहेको छ ।

निगमको वेबसाइटमा थाइल्यान्ड र जापान जाने टिकट सधैं भरिभराउ भइसकेको देखिन्छ । तर, सीमित ट्राभल एजेन्सीमा भने महँगो शुल्क तिरे तत्कालै टिकट पाइन्छ । 

विशेषगरी कोभिडपछि भने जापान र थाइल्यान्ड जाने टिकटमा ‘कार्टेलिङ’ गर्दै कर्मचारीले आफूनिकट एजेन्सीलाई मात्र टिकट दिने गरेको निगमकै उच्च अधिकारीहरूको भनाइ छ ।

निगमले केन्द्रीय कार्यालयबाट पनि टिकट काट्न पाउने व्यवस्था गरेको छ । तर, त्यहाँ पुग्दा पनि ती दुई देश जाने टिकट पाउन मुस्किल पर्छ । जापान जाने टिकट किन्न माथिल्लो निकायको ‘सोर्सफोर्स’ लगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

‘सिस्टम’ मा टिकट नदेखिए पनि कर्मचारीहरू (कमर्सियल विभागका) सँग भने टिकट राखिएको हुन्छ । ती कर्मचारीले आफ्ना नजिकका र सोर्सफोर्स लगाएर आउनेलाई टिकट दिने गरेको एक अधिकारीले बताए । यसरी टिकट पाउन कम्तीमा दुई दिन धाउनुपर्ने एक यात्रुले बताए ।

‘माथिबाट जानकारी लिँदा टिकट छ भन्नुहुन्छ, तर काउन्टरमा जाँदा भोलि आउनुभन्दै फर्काउने गरेको धेरैपटक पाएको छु,’ कर्मसियल विभागका एक अधिकारीले भने । 

हाल कमर्सियल डाइरेक्टर जनक कालाखेती हुन् । उनीमाथि यसअघि पनि टिकट बिक्रीमा मनोमानी गरेको आरोप लागेको थियो । अहिलेको समस्याबारे जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

निगम प्रवक्ता अर्चना खड्काले ‘सिस्टममा कुनै समस्या नभएको र ट्राभल एजेन्सीहरूले नै टिकट बेचिरहेको’ बताइन् । ‘हामीले सिस्टम सधैं खुला राखेका हुन्छौं,’ उनले भनिन्, ‘एउटा ट्राभल देख्ने अनि अर्कोले नदेख्ने भन्ने हामीलाई थाहा हुँदन ।’

तर, ट्राभल एजेन्सीका गुनासो भने आफ्नै छ । ‘हुन त यो समस्याबारे निगम व्यवस्थापकहरू पनि जानकार नभएका होइनन्, तर छानबिन गरेर कारबाहीका लागि उनीहरू तयार हुँदैनन्,’ एक ट्राभल एजेन्सीका सञ्चालकले गुनासो गरे ।

निगममा ‘टिकट लुकाउने’ रोग लामो समयदेखि कै हो । जुन अहिलेसम्म जारी छ । कोभिडका बेला चार्टर उडानमार्फत सीमिति ट्राभल एजेन्सीलाई मात्र पोस्न सहयोग गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाएर प्रतिवेदनसमेत बुझाएको थियो । तर, हालसम्म कसैलाई पनि कारबाही भएको छैन ।

टिकट भए पनि दिँदैनन् कर्मचारी

टिकट भए पनि निगम कर्मचारीले हत्तपत्त टिकट दिनै मान्दैनन् । कमर्सियल डाइरेक्टरमात्र होइन, टिकट बिक्रीमा जिम्मेवार अन्य कर्मचारीले पनि यात्रु झुलाउने काम गरिरहेका छन् । 

‘पैसा तिरेर टिकट किन्छुभन्दा पनि निगम कर्मचारीले सहजै दिँदैनन्,’  केही समयअघि दुई दिन धाएर जापान जाने टिकट काटेका एक यात्रुले भने, ‘सोध्दा टिकट छ भन्छन्, तर दिन आनाकानी गर्छन् ।’

यस्तो समस्या यात्रुले मात्र होइन, ट्राभल एजेन्सीहरूले समेत भोगिरहेका छन् । तोकिएको पैसा तिरेर टिकट किन्न खोज्दासमेत निगमले नदिएपछि आफ्ना यात्रुलाई महँगोमा अर्को एजेन्सीबाट टिकट कटाउन बाध्य भएको एक व्यवसायीको गुनासो छ । 

‘निगमले सीमित ट्राभल एजेन्सीका आडमा अरूलाई बेवास्ता गर्ने गरेको छ,’ उनले भने ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष रमेश थापाले वायुसेवा निगममा देखिएको समस्याबारे दुई महिनाअघि नै निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी लगायतसँग भेट गरी संस्थागत रूपमै जानकारी गराएको बताए । 

लामो समयदेखि ट्राभल एजेन्सीहरूले यसबारे गुनासो गरेकाले अध्यक्षसहितको टिम भेट्दा तत्कालै समधान हुने प्रतिबद्धता गरिएको थापाले जानकारी दिए । 

‘दुई महिनाअघि सुधार गर्ने प्रतिबद्धता आएकाले हामी पर्खिरहेका छौं,’ थापाले भने, ‘त्यसपछि पनि सुधार नभए निगममा धर्ना दिन जान्छौं ।’
पछिल्लो समय निगममात्र होइन, अन्य निजी वायुसेवामा पनि सिस्टममा टिकट नदेखिने समस्या रहेको उनको भनाइ छ ।

 
 

सोमबार १३ भदौ २०७९ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया