काठमाडौं । केन्द्रीय बैंकले बैंकहरुमाथि प्रोभिजनको डन्डा चलाएपछि बैंकहरु रिकोभरीमा आक्रामक बनेका छन् ।
केन्द्रीय बैंकले मन फुकाएर बैंकहरूलाई प्रोभिजन गराउँदा नाफामा धक्का लाग्ने भएपछि कर्जा असुलीमा बैंकहरू आक्रामक बनेका छन् ।
चालू आर्थिक वर्षको १० महिनासम्म बैंकहरूले ४७ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, असार १२ गतेसम्म ४७ खर्ब ६ अर्बमा झारेका छन् । बैंकहरूले डेढ महिनामा १९ अर्ब रुपैयाँ असुली गरेका छन् ।
केन्द्रीय बैंकको निर्देशनअनुरूप बैंकहरू कर्जा ठप्प बनाई रिकोभरीमा मात्रै लागेका छन् । केन्द्रीय बैंकले बैंकरहरूले सोचेभन्दा बढी प्रोभिजन गराउन थालेपछि उनीहरुको ध्यान रिकोभरीतर्फ बढेको हो ।
केन्द्रीय बैंकले यसरी प्रोभिजन बढाउँदा नाफामा ठूलो धक्का लाग्छ । यसरी धक्का लाग्नासाथ बैंकका व्यवस्थापनमाथि सञ्चालकदेखि सेयर लगानीकर्ताको समेत दबाब हुन्छ । त्यही भएर बैंकहरूले रिकोभरीलाई प्राथमिकतामा राखेको बैंकरहरू बताउँछन् ।
‘अहिले बैंकरहरू रिकोभरीमा कुनै कम्प्रमाइज गर्ने पक्षमा छैनन्’, एक बैंकरले भने, ‘डेढ महिनाको अवधिमा १९ अर्ब असुली हुनुले त्यसलाई पुष्टि गरेको छ ।’
असार मसान्त केन्द्रीय बैंकले गराएको प्रोभिजन हटाउन रिकोभरी अनिवार्य हुन्छ । यदि असार मसान्तसम्म ऋण असुली गर्न सकिएन भने प्रोभिजन गरेको रकम नाफामा ल्याउन सकिँदैन । त्यही भएर बैंकहरू केन्द्रीय बैंकले जुन–जुन कर्जालाई प्रोभिजन गर्न भनेको छ, ती–ती ऋणीसँग असुली गरिरहेका छन् ।
बैंकहरुले त्यस्तो ऋण असुलउपर गरेको अवस्थामा प्रोभिजन हट्छ र उक्त रकम नाफामा देखाउन पाइन्छ । यसकारण अहिले बैंकहरूले नयाँ ऋण ठप्प बनाएर असुलीमै ध्यान दिइरहेका छन् ।
अहिले कतिपय बैंकको कर्जा निक्षेप अनुपात ८३ सम्म पनि छ । तैपनि बैंकहरू नयाँ कर्जा दिनाको साटो रिकोभरीमै जुटेका छन् ।
‘केन्द्रीय बैंकले नयाँ ऋण रोक्नै नै निर्देशन दिएको छ । कर्जा दिन सक्ने स्पेस हुँदाहुँदै पनि हाम्रो जोडबल रिकोभरीमै छ । नयाँ कर्जा दिने मनस्थितिमा छैनौं’, ती बैंकरले भने, ‘बैंकहरुले विगत दुई वर्षमा जथाभावी कर्जा प्रवाह गरेकाले अहिले यो अवस्था आएको र आगामी वर्ष पूरा भएर मात्रै कर्जा प्रवाह गर्न केन्द्रीय बैंकको प्रष्ट निर्देशन छ । सोहीअनुसार बैंकहरु असारसम्म सीडी ९० मा झार्न र नयाँ कर्जा नदिने सोचमा छन् ।’
केन्द्रीय बैंकले कतिपय बैंकहरुको वित्तीय विवरण नै घाटामा जाने गरी प्रोभिजन गराएको छ । उनीहरुलाई त ऋण असुली मात्रै गर्नुपर्ने बाध्यता छ । कतिपय बैंकहरुको कुल नाफाको ५० प्रतिशतहाराहारी प्रोभिजन गराएको अवस्था छ । उनीहरु पनि रिकोभरी गरेर प्रोभिजन घटाउन लागिपरेका छन् ।
एकातिर धेरथोर निक्षेप बढ्ने र अर्कोतिर कर्जा ठप्प बनाउने नीति बैंकहरुको छ । धेरथोर निक्षेप बढ्दा सीडी व्यवस्थापनमा सजिलो हुने र कर्जा ठप्प बनाएर रिकोभरीमा लाग्दा प्रोभिजनमा गएको रकम फिर्ता ल्याउने दाउ बैंकहरुको छ ।