×

अष्ट बचत तथा ऋण सहकारी समस्यामा, उजुरीका चाङ

images

काठमाडौं। अष्ट बचत तथा ऋण सहकारी संस्था समस्यामा परेको छ। काठमाडौं न्युरोडमा केन्द्रीय कार्यालय रहेको अष्टले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि समस्यामा परेको हो।

 पछिल्ला तीन महिनादेखि सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता नगरेको बचतकर्ताले गुनासो गरेका छन्। तीन महिनादेखि सञ्चालकले पैसा फिर्ता गर्ने आश्वासन दिए पनि फिर्ता नगरेपछि निक्षेपकर्ताले धमाधम उजुरी दिन थालेका छन्। 

आइतबार सहकारीका तीन कर्मचारीसहित ३५ बचतकर्ताले निक्षेप माग दाबी गर्दै काठमाडौं महानगपालिका सहकारी विभागमा उजुरी दिएका छन्।उनीहरूले करिब ४० लाख रुपैयाँ माग दाबीसहित उजुरी दर्ता गराएका छन्। 

सहकारीमा थुपै्रको बचत रहे पनि सबैजना उजुरीका लागि नआएको एक बचतकर्ताले बताए। धेरैले थाहा नै नपाएकाले उजुरी गर्न नआएका उनको भनाइ छ। त्यस्तै सहकारीको अर्को शाखा कोटेश्वरमा छ। हाल उजुरी दिने बचतकर्ता भने कोटेश्वर शाखाका हुन्। 

अछाम विनायकका देवेन्द्रप्रसाद तिमिल्सिनाले अष्ट बचत तथा ऋण सहकारी संस्थाको कोटेश्वर शाखामा ९५ हजार बचत रहेको बताए। उनी हाल काठमाडौं कोटेश्वरमा बस्छन्। 

उनले कोटेश्वरमा खाजा घर (क्याफे) सञ्चालन गरिरहेका छन्। उनी दैनिक अष्ट बचत तथा ऋण सहकारीमा पैसा जम्मा गर्ने गरेको सुनाउँछन्। 

‘दैनिक ५ सय रुपैयाँ जम्मा गर्ने गरिरहेको थिएँ,’ उनी भन्छन्, ‘सहकारीमा ९५ हजार जम्मा भएको छ। पहिले पैसा झिक्दा समयमै दिन्थ्यो तर पछिल्ला तीन महिनादेखि बचत झिक्न खोज्दा सहकारीमा पैसा छैन भन्न थालियो।’सहकारीका सञ्चालकले तीन महिनादेखि पैसा फिर्ता गर्ने आश्वासन दिएको उनी सुनाउँछन्। 

‘सहकारीका कर्मचारीले सहकारीमा पैसा छैन भन्न थाले। त्यसपछि सञ्चालकलाई सम्पर्क गरेँ,’ उनी भन्छन्, ‘तीन महिना भयो पैसा पाइने आश गरेको तर सञ्चालकहरूले तीन महिना बित्दासमेत पैसा दिने छाँट देखाएनन्।’अन्य साथीहरू पनि पैसा नपाएको भन्दै आउन थालेपछि जम्मा भएर उजुरी दिन आएको तिमिल्सिनाले बताए।  

सोही सहकारीमा ससनसरीका शत्रुघ्नले पनि पैसा जम्मा गरेका छन्। उनले सहकारीमा ८० हजार रुपैयाँ जम्मा गरेका छन्। उनलाई पनि सहकारीले पैसा फिर्ता गर्ने आश्वासन दिँदै आइरह्यो तर, उनले पैसा पाएनन्। त्यपछि उनले अन्य पैसा नपाएको साथीहरू भेटिएपछि उजुरी दिन आएको बताए। 

बचतकर्तामात्र नभएर सहकारीमा कर्मचारीले नै आफ्नो पैसा डुबेको भन्दै उजुरी दिएका छन्। उनीहरूले आफ्नो तलबवापत केही पैसा सहकारीमा जम्मा गरेको सुनाए। 

सहकारीका सञ्चालक आफ्नो सम्पर्कमा नभएपछि उनीहरू पनि बचतकर्तासँगै उजुरी दर्ता गराउन आएको बताउँछन्। पछिल्लो समय संघदेखि स्थानीय तह कार्यक्षेत्र रहेर कार्य सञ्चालन गरिरहेका सहकारी भाग्ने क्रम बढ्दो छ। 

केही महिनाअघि संघमा कार्यक्षेत्र रहेर काम गरिरहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थासहित प्रदेश र स्थानीयरूपमा कार्य गरिरहेका एक दर्जन सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन्।  

गत तीन महिनामा काठमाडौं महानगर सहकारी विभागमा चार सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै उजुरी दिएका छन्। 
उपत्यकाभित्र कारोबार गर्ने आरक्षण बचत तथा ऋण, नवसंकल्प सहकारीलगायत चार सहकारी फरार भएको काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पौडेलले बताए। 

हालै लम्बिनी प्रदेशअन्तर्गतको नमस्ते सहकारी बचतकर्ताको पैसा फिर्ता नगरेपछि समस्यामा देखिएको छ। त्यस्तै देउराली बहुउद्देश्यीय सहकारीले सदस्यलाई बचत फिर्ता गर्न नसकेर कालोसूचीमा परेको छ। सहकारीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो। 


 

सोमबार १२ मंसिर २०७९ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया