काठमाडौं । बिमा कम्पनीहरुले मंगलबारबाट कोरोना बिमाको दाबी भुक्तानी गर्ने भएका छन् । कम्पनीहरुले पहिले बिमा गर्नेलाई पहिलो चरणमा भुक्तानी गर्ने भएका हुन् । पहिलो चरणमा कम्पनीहरुले १ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्नेछन् ।
जसमा १ अर्ब रुपैयाँ सरकारले निकासा गरिसकेको छ भने बाँकी ८१ करोड ८४ लाख रुपैयाँ नेपाल बिमा प्राधिकरण, नेपाल पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरुले बहन गर्ने भएका छन ।
पहिला पीसीआर दर्ता गर्नेलाई पहिलो चरणमा कोरोना दाबी भुक्तानी गरिने प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बताए । ‘सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत नेपाल पुनर्बिमा कम्पनी, बिमा प्राधिकरण र बिमा कम्पनीहरुले व्यहोर्ने छन्, सिलवालले क्यापिटल नेपालसँग भने ।
‘सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत बाँकी ४५ प्रतिशत मध्ये नेपाल पुनर्बिमा कम्पनीको १२ करोड ८२ लाख, बिमा प्राधिकरणको १४ करोड ६४ लाख र बिमा कम्पनीहरुले ४५ करोड ४६ लाख रुपैयाँ दाइत्व छ, उनले भने, ‘सबैले आफ्नो दायित्व पूरा गर्ने गरी माइन्यूट भएको छ ।’
मंगलबारभित्र कोरोना दाबी भुक्तानी नगरिए कारवाही थाल्ने सिलवालले बताए । ‘बिमा कम्पनीहरु र नेपाल पुनर्बिमाले भुक्तानी गर्ने माइन्यूट गरेका छन,’ उनले भने, ‘माइन्यूटअनुसार जसले ढिलाई गर्छ उसलाई कारवाही गर्ने छौं ।’
यता पुनर्बिमा कम्पनीले भने आफ्नो दायित्वअनुसार यसअघि नै १ अर्ब रुपैयाँ भुक्तानी गरेको भन्दै भुक्तानी नगर्ने अडानमा छ । कम्पनीले आफ्नो दायित्वअनुरुप १ अर्ब रुपैयाँ पहिलै नै भुक्तानी गरेको नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष रविन्द्र धिमिरेले बताए ।
पुनर्बिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न इच्छुक देखिदा पुनः कोरोना दाबी भुक्तानी मंगलबार नै हुने छाँटकाँट देखिदैन् ।
बिमा कम्पनीहरु भने आफ्नो दायित्व अन्तर्गतको पैसा जम्मा गर्न थालेका छन् । १९ निर्जीवन कम्पनीले प्रतिकम्पनी २ करोड २७ लाख रुपैयाँको दरले जम्मा गराइसकेको बिमक संघले जनाएको छ ।
लामो समयदेखि बिमितले कोभिड दाबी भुक्तानी पाएका छैनन् । कोभिड बीमा मापदण्डअनुसार साढे ३ अर्ब रुपैयाँभन्दा माथिको रकम सरकारको दायित्व हो। बीमा कम्पनीहरुले आफ्नो दायित्वमा परेको रकम वितरण गरिसकेका छन ।
जसमा अनुदानसहित बिमा कम्पनी, प्राधिकरण, पुनर्बीमा कम्पनीहरुले संयुक्तरूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए।
कोभिड दाबी भुक्तानीका लागि १ लाख ३८ हजार २५१ जनाको दाबी परेको थियो। वितरण रोकिनु अघिसम्म भुक्तानी पाउनेको संख्या दावीकर्तामध्ये आधा पनि छैनन् ।
कम्पनीहरुले भुक्तानी रोक्दा बिमितहरु अदालतसम्म पनि पुगेका थिए । अदालतले बिमितको पक्षमा आदेश दिदा पनि बीमा कम्पनीहरु नसक्ने भन्दै भुक्तानी दिनबाट पछि हटेको थिए।
बाँकी रहेको १० अर्ब ५२ करोड बराबरको दाबी भुक्तानीमध्ये पहिलो चरणमा १ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ वितरणका लागि बिमक संघले तयारी गरिरहेको थियो।
सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बिमाको भुक्तानी रोकेका थिए । भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले आफ्नो दायित्व स्वीकार गर्दै दसैंअघि नै १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।
त्यसपछि थप रकम तिर्न बिमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीले आनाकानी गरिरहेको थिए । बल्ल आएर कोरोना बिमा दाबी भुक्तानीको लागि कम्पनीहरु राजी भएका हुन् ।