काठमाडौं। रसुवागढी नाकाबाट छुटेका दुई कन्टेनर (गाडी) राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ। रसुवागढी नाकामा ‘सेटिङ’ मिलाएर काठमाडौं आउने क्रममा विभागले एउटा गाडी नियन्त्रणमा लिएसँगै अर्को गाडी नुवाकोटको बट्टारमा छाडेर भागेको अवस्थामा फेला परेको हो।
विभागका एक अधिकारीका अनुसार काठमाडौं ल्याउँदै गरेको एउटा गाडी नियन्त्रणमा लिएसँगै अर्को गाडी भने बट्टारमा छाडेर भागेका थिए। तर, बट्टारमा छाडिएको गाडी भने खाली भेटिएको छ।
ती अधिकारीका अनुसार गाडी नियन्त्रण भएको खबर पाएसँगै सेटिङकर्ताले बट्टारबाटै ती गाडीका सामान अन्य गाडीमा पठाएर खाली गरेका थिए। अनुसन्धान विभागका प्रतिनिधिले त्यहाँबाट खाली गाडीमात्र भेटिएको र त्यसलाई पनि नियन्त्रणमा लिइसकेको जनाएका छन्।विभागका महानिर्देशक मदन दहालले रसुवा नाकाबाट आएका दुई गाडी नियन्त्रणमा लिएको पुष्टि गरे।
‘हामीले गाडी नियन्त्रणमा लिएका छौं। अनुसन्धान क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन,’ महानिर्देशक दहालले क्यापिटल नेपालसँग भने। विभागले गाडी चालक र सञ्चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ। तै पनि, ती गाडीमा के सामान थियो, कति मूल्यको थियो र कसले ल्याएको हो भन्ने विषय भने विभागले खुलाएको छैन।
विश्वस्त स्रोतका अनुसार ती गाडी काभ्रेपलान्चोकका हेमलाल चौलागाईंले ल्याएका हुन्। उनी हाल फरार रहेको र अनुसन्धान विभागले खोजी जारी राखेको छ। तर, यस विषयमा विभागले भने कुनै आधिकारिक जानकारी गराएको छैन। स्रोतका अनुसार चौलागाईं लामो समयदेखि चीन र भारतबाट सेटिङका आधारमा सामान ल्याउने व्यक्ति हुन्। यसअघि उनले भारतका विभिन्न नाकाबाट सामान ल्याउने गरेका थिए।
खासगरी माओवादी केन्द्रका माथिल्लो तहका नेतालाई प्रभावमा पारेर नाकाका कर्मचारीबाट त्यस्ता गाडी छुटाउने गरेको पाइएको छ। माओवादीभित्र अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनसम्म चौलागाईंको पहुँच रहेको स्रोतको भनाइ छ।
त्यही आधारमा उनले भन्सारका कर्मचारीलाई प्रभावमा पारेर सामान छुटाउने गरेको पाइएको छ। अहिले पनि विभागको नियन्त्रणमा रहेका ती दुई गाडी छुटाउन अर्थमन्त्री शर्मासमक्ष समेत उनले प्रस्ताव लगेर महानिर्देशक दहाललाई दबाब दिँदै आएको स्रोतको दाबी छ।
विभागका महानिर्देशक दहालले भने आफूलाई अहिलेसम्म कतैबाट पनि दबाब नआएको र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताए। चुनावका कारण अनुसन्धानमा केही ढिलाइ भएको बताउँदै दहालले घटनामा संलग्न सबैसँग सोधपुछ जारी राखिएको बताए। अबको केही दिनभित्रै अनुसन्धान सकाउने गरी विभाग अगाडि बढेको उनको भनाइ छ।
७५ प्रतिशतसम्म भन्सार छलेर गाडी छुटाएका थिए
चौलागाईंले रसुवागढी नाकामा सामान्य खालका सामान भन्दै ७५ प्रतिशतभन्दा बढी भन्सार छलेर दुई कन्टेनर सामान ल्याएको खुलासा भएको छ। तर, यो विषयमा अनुसन्धान भइरहेकाले कति भन्सार छलेको र क–कसको संलग्नता छ भन्ने खुलाउन नमिल्ने राजस्व अनुसन्धान विभागले जनाएको छ।