काठमाडौं । वाणिज्य बैंकहरूले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ओरालो लागेको छ । हालसम्म बैंकहरुको औसत सीडी रेसियो ८९.२६ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले सीडी रेसियो सीमाभित्र नल्याउने बैंकलाई कारबाहीको चेतावनी दिएपछि बैंकहरू ‘सीडी मेन्टेन’मा लागेका हुन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै जाँदा कर्जा विस्तारमा कडाइ गरी कर्जा असुलीमा लागेपछि सीडी रेसियो ८९.२६ प्रतिशतमा आएको हो ।
पछिल्लो एक दिनमै वाणिज्य बैंकहरूमा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार ११ गते ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको निक्षेप ५ अर्बले बढेर असार १२ गते ४९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै पछिल्लो एक दिनमा वाणिज्य बैंकको कर्जा विस्तारमा भने १ अर्ब रुपैयाँले घटेको छ ।
वाणिज्य बैंकहरूमा निक्षेप बढ्दै जाँदा कर्जा विस्तार कडाइले सीडी घटेको हो । असार ११ गते ८९.३७ प्रतिशत सीडी रेसियो एक दिन अर्थात् असार १२ गतेसम्म आइपुग्दा घटेर ८९.२६ मा आएको छ । यतिबेला सीडी रेसियो निरन्तर घट्दो क्रममै छ । सीडीको समय एक वर्ष बढ्ने आसमा बसेका बैंकका सीईओ अहिले कर्जा रोकेर सीडी तल ल्याउने चटारोमा छन् ।
तर, केही बैंकका सीईओ राष्ट्र बैंकले समय नथप्ने भन्दै सीमा वा त्योभन्दा पनि तल बसिरहेका थिए । तर, केही बैंकहरू शक्तिकेन्द्र धाएर भए पनि एक वर्ष थप्ने भन्दै लागिपरेका थिए ।
तर, गभर्नर महाप्रसाद अधिकारीले केही दिन बैंकका अध्यक्ष तथा अडिट कमिटी हेर्ने सञ्चालकलाई बोलाएर कुनै हालतमा समय नथप्ने र असारभित्र सीमामा नझार्ने बैंकलाई कारबाही गर्ने बताएपछि बैंकहरू रिकोभरीमा मात्रै लागेका छन् ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले एक वर्षको समयसीमा दिएर सीडी लागू गरेको थियो । यो बीचमा कतिपय बैंकहरूको सीडी ९० प्रतिशत भन्दा माथि पुगेको थियो । तर, त्यो बेला केन्द्रीय बैंकले ती बैंकहरूलाई बोलाएर सचेत भने गराएको थियो ।
बैंकहरू सीडी मेन्टेनमा चुकेपछि केन्द्रीय बैंकले प्रत्येक १५÷१५ दिनमा अनुगमनसमेत गर्न थालेको थियो । हरेक तवरबाट कस्दै ल्याएपछि अब कुनै हालतमा समय थपिँदैन भन्ने देखेपछि बैंकका सीईओहरू निक्षेप बढाउन र ऋण उठाउने नीतिमा गएका छन् ।