काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरी सञ्चय कोषले बचत र ऋण दुबैको ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएको हो । सञ्चय कोषको सञ्चालक समितिले ब्याजदर वृद्धिको प्रस्ताव पारित गरिसकेको कामु प्रशासक जितेन्द्र धितालले बताए । कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएर ८ प्रतिशत पुर्याएको छ ।
चालू आर्थिक वर्षमा बचतको ब्याजदर साढे ६ प्रतिशत छ । यस्तै सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत विन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ । सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएको कोषले जानकारी दिएको छ ।
यस्तै जग्गा खरिद र सरल चक्रकर्जामा १०.२५ प्रतिशत कायम भएको छ । धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धित त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशतले छुट (रिवेट) दिने कोषले जानकारी गराएको छ ।
कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत रहेको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ । कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले सिफारिस गरेपछि कोष सञ्चालक समितिले नयाँ ब्याजदर पारित गरेको हो ।
बजारमा तरलताको समस्या जारी रहेको र अझै केही समय हट्ने सम्भावना नदेखिएकाले आगामी आर्थिक वर्ष सञ्चयकर्तालाई दिने र उनीहरुबाट लिने दुवैको ब्याजदर बढाउनुपर्ने अवस्था देखिएको सञ्चय कोषले जनाएको छ । बजारमा तरलता संकट बढेपछि अहिले बैंकहरुले ब्याजदर बढाएका छन् ।
जलविद्युतलगायत विभिन्न परियोजनामा प्रवाह हुने कर्जाको ब्याजदर ९.७५ प्रतिशत छ । निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक र निजी व्यावसायिक प्रतिष्ठानलगायत गरी ६ लाख बढी सञ्चय कोषमा आबद्ध छन ।
चार वर्ष अघिसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) का कारण कोषले मुद्दती निक्षेप र परियोजना कर्जामा १२ प्रतिशतसम्म ब्याज लिने गरेको थियो । त्यसपछि निरन्तर घटाउँदै लगेको छ ।
सञ्चय कोषले सरकारको जमानीमा साढे २६ अर्ब रुपैयाँ विमान खरिद गर्न नेपाल वायुसेवा निगमलाई ऋण दिएको थियो । कोरोना महामारीले गर्दा कर्जाको ब्याज प्राप्त भएको छैन । कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा ऋण लगानी गरेको छ ।
तामाकोसीबाट किस्ता आउन थालेको छ । कोषले १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माणधिन अवस्थामा छन् । १६० मेगावाटको लाप्चे जलविद्युत आयोजनामा ऋण लगानी सम्झौता गरेको छ ।