×

आर्थिक सुधारमा युवा हस्तक्षेप

images

हालै दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षीय वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएपछि विश्वभर युवा नेतृत्वको बहस पुनः सतहमा आएको छ । असमानता र भ्रष्टाचारको विरुद्धमा सरकार विरोधी जनप्रदर्शनको नेतृत्व गरेका बोरिकले असमानता अन्त्यका लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै नीतिहरूमा क्रान्तिकारी परिवर्तन गर्ने घोषणा गरेका छन् । बोरिकको उदयले चिलीमा नयाँ उत्साह जगाएको बताइएको छ ।

बोरिकको सन्दर्भ यहाँ किन पनि जोडिएको हो भने नेपालमा लामो समयदेखि नेतृत्व परिवर्तनका विषयमा बहस जारी छ । तर, सम्भव भइरहेको छैन । राजनीतिक रूपमै नेतृत्व परिवर्तन नभएका बेला आर्थिक सुधारमा युवाको हस्तक्षेप होला भनेर कल्पना गर्नु न्यायिक नहुन पनि सक्छ । तर, हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले आशलाग्दा नेताहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ । 

महामन्त्रीद्वयमा विश्वप्रकाश शर्मा र गगन थापाको विजयले नेपाली कांग्रेसको पुस्तान्तरणको सवालमा एक पाइला अघि सरेको संकेत गर्छ । यद्यपि उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा पनि अघिल्लो पुस्ताको तुलनामा युवाहरूको प्रवेश भएको छ । कांग्रेसको महाधिवेशन अघि नेकपा एमालेको १०औं महाधिवेशन भएको थियो । महाधिवेशनबाट महासचिवमा शंकर पोखरेलको आगमनले आगामी दिनमा नेकपा एमालेमा पनि कम्तीमा युवाहरूको बोलवाला हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । 

अध्यक्षपछि शक्तिशाली महासचिवमा दोस्रो पुस्ताको नेता आउनुमा पनि सुखद् मान्न सकिन्छ । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनले बाजी मारे । कमल थापाभन्दा तुलनात्मक रूपमा युवा रहेका लिङ्देनको उदयले पनि पार्टीमा युवाहरूको बर्चश्व बढिरहेको देखाउँछ । राप्रपाबाहेक अरू दलको मूल नेतृत्व भने ७० वर्षेहरूले गरेका छन् । आशलाग्दो खबर भने कांग्रेसमा ४५ वर्ष थापाको उदय हो । 

युवा नेतृत्वले पनि पहिलो पुस्ताले जस्तै काम चलाउ र जोखिम नमोल्ने नीति अख्तियार गरी तात्कालिक विषय वस्तुका ओठे जवाफमा सीमित हुने हो भने युवाप्रतिको भरोसा टुट्नेछ । युवाप्रतिको भरोसा टुट्यो भने मुलुकका लागि त्योभन्दा ठूलो दुर्भाग्य केही हुने छैन । 

खासगरी महाधिवेशनको दौरान महामन्त्री थापाले ‘सम्मुनत नेपाल, सम्मानित नेपाली’को अवधारणा सार्वजनिक गरेर अर्थतन्त्रमा युवाहरूले हस्तक्षेप गर्ने संकेत गरेका छन् । अहिले अर्थतन्त्र एकप्रकारको भन्ने हो भने ‘कोमा’मा पुगेको अवस्था छ । सबैजसो सूचकहरू ओरालो लागेका छन् । कोभिड–१९ ले विक्षिप्त बनेको नेपाली अर्थतन्त्रले गति लिन नपाउँदै अन्तर्राष्ट्रिय मूल्य वृद्धिको दबाबमा फसेको छ । वैदेशिक रोजगारीका अवसर खुम्चिनेदेखि मुलुकको शोधनान्तर घाटा बढिरहेको र विदेशी मुद्रा सञ्चिति घटिरहेको स्थिति छ । यस्तो बेला सत्तासीन युवा नेतृत्वले पार्टी र सरकारमा हस्तक्षेपकारी भूमिका खेल्दै अर्थतन्त्रलाई सञ्जीवनी बुटी प्रदान गर्नुपर्ने आवश्यकता छ । युवाहरूले मूल नीतिमा हस्तक्षेप गर्ने सामथ्र्य बनाएर अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा राख्न सके आगामी दिनमा युवा आवाज अझ बुलन्द बन्न सक्छ ।

मूलतः आन्तरिक रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रको विस्तारमा पार्टीका आधिकारिक दस्तावेज र सरकारमा पनि त्यही किसिमको छाया देखाउन सके युवा नेतृत्वको चमक अझ बढ्छ । अन्यथा युवा आए पनि के फरक छ र भन्ने सन्देश जनतामा प्रवाहित हुने खतरा रहन्छ । जसरी अहिले नेपालीहरूको राजनीतिप्रति वितृणा जागेको छ, युवा नेताहरूको सकारात्मक भूमिकाका कारण केही आशा जागेको छ । युवा नेतृत्वले पनि पहिलो पुस्ताले जस्तै काम चलाउ र जोखिम नमोल्ने नीति अख्तियार गरी तात्कालिक विषय वस्तुका ओठे जवाफमा सीमित हुने हो भने युवाप्रतिको भरोसा टुट्नेछ । युवाप्रतिको भरोसा टुट्यो भने मुलुकका लागि त्योभन्दा ठूलो दुर्भाग्य केही हुने छैन । 

वास्तवमै भन्ने हो भने अवको पुस्ता थापा र शर्मालाई ‘आइडल’ मानेर राजनीतिमा प्रवेश गर्छन् । भर्खरै सम्पन्न भएका कांग्रेस, एमाले र राप्रपाको नेतृत्वमा तहमा उल्लेख्य युवा पुस्ताको प्रवेश भएको छ । यद्यपि चिलीको राष्ट्रपति भएका उमेरको राजनीतिज्ञ नेपालले सरकारको नेतृत्वमा पाउन भने समय कुर्नुपर्ने हुन्छ ।

 त्यसका लागि पनि अहिले विभिन्न दलमा भएका युवाहरूको जमातले जनस्तरमा राजनीतिक प्रतिको आकर्षण र राजनीतिमार्फत नै आम मानिसको जनजीवन र जनजीविका परिवर्तन हुन्छ भन्ने सन्देश प्रवाहित गर्न सक्नुपर्छ । पार्टी राजनीतिमा नेतृत्व गर्नेहरूले नै सरकारको नेतृत्व गर्ने भएकाले युवा नेतृत्वले छिट्टै आर्थिक सुधारमा हस्तक्षेप गरी जनताको मुहारमा आशाको किरण छर्न सफलता मिलोस् । शुभकामना । 

सोमबार १२ पुस २०७८ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया