काठमाडौं । अल्फा इम्पोरियलले नेपाली बजारमा रेडिमेड कपडाको ब्राण्ड ‘भ्याक्सिनो’ ल्याएको छ । प्रकाश प्रधान सञ्चालक रहेको अल्फा इम्पोरियलले ३ करोड लगानीमा भ्याक्सिनो नेपाली बजारमा ल्याएको हो । भ्याक्सिनोको ब्राण्ड एम्बेसडरमा नेपाली आधुनिक संगीतका चर्चित गायक प्रमोद खरेल बनेका छन् ।
भ्याक्सिनो ब्राण्डले हाल पुरुषको लागि मात्रै जिन्स र कटन गरी २ किसिममा कपडा ल्याएको जनाएको छ । सुरुवातमा पुरुषका लागि मात्रै कपडा राखे पनि विस्तारै महिलाहरूका लागि पनि कपडाको उत्पादन गरिने सञ्चालक प्रधानले बताए ।
सो ब्राण्डका कपडाको स्वरुम असनको ‘नेपाल कम्प्लेक्स’को चौथो तलामा रहेको कम्पनीको जनाएको छ । नेपाली ब्राण्डको भ्याक्सिनोले हाल भारत र चीनमा कपडा बनाएर नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्ने जनाएको छ । यद्यपि निकट भविष्यमा नेपालमै १ सयदेखि २ सय वटासम्म मेसिन राखेर ६० देखि ७० प्रतिशत लुगा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
साथै करिब ३ सय जनालाई पूर्ण रुपमा रोजगारी दिन सक्ने सञ्चालक प्रधानले बताए । उनले भने, ‘हाम्रो फ्याक्ट्री र अन्य कामका लागि रोजगारी दिन सक्छौं । तत्कालै काठमाडौं उपत्यकाका ३ ठाउँ कुमारीपाटी, दरबारमार्ग र बौद्धमा स्वरुम खोल्ने योजना छ ।
विस्तारै अन्तर्राष्ट्रिय स्तरमा पनि जाने प्रयास हाम्रो रहनेछ ।’ स्वादेशी ब्राण्ड रहेको भ्याक्सिनोले अन्तर्राष्ट्रिय ब्राण्डको भन्दा ५० प्रतिशत कम मूल्यमा उस्तै गुणस्तरको सामान उपलब्ध गराउने दाबी गरेको छ ।
कार्यक्रममा बोल्दै खरेलले भने, ‘भ्याक्सिनोसहित मैले ३ वटा ब्राण्डमा एम्बेसडरको भूमिका निर्वाह गरेको छु । कुनै पनि ब्राण्डले एम्बेसडर बन्न अनुरोध गर्दा सामानको गुणस्तर, बजारको अवस्था र व्यवस्थापन पक्षलाई ख्याल गर्छु ।’
भ्याक्सिनोले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल पनि उपस्थित थिए । उनले विदेशी ब्राण्डका कपडा हेर्दा राम्रो भए पनि लगाउँदा आफूलाई चित्त नबुझ्ने समस्या रहेको समयमा स्वदेशी ब्राण्डको भ्याक्सिनोको कपडा लगाउँदा राम्रो रहेको बताए ।
साथै परिवार मिलेर व्यवसाय सञ्चालन गरेकाले पनि भ्याक्सिनोले राम्रो सफलता प्राप्त गर्ने उनको भनाइ छ । ‘विश्वमा नै पारिवारिक सहकार्यमा गरेको व्यवसाय सफल भएका उदाहरणहरू छन् त्यसैले भ्याक्सिनो ब्राण्ड पनि श्रीमान–श्रीमती तथा छोराछोरीसहित मिलेर सञ्चालनमा आएकाले सफल हुन्छ भन्ने विश्वास लिएको छु ।’
त्यस्तै भ्याक्सिनो ब्राण्ड नाम राख्नका लागि ६ महिना समय लागेको सञ्चालक प्रधानले बताए । उनकाअनुसार, धेरै नाममा अन्य कम्पनी दर्ता भइसकेको कारण कोरोनाको भ्याक्सिनको चर्चा चलिरहेको समयमा भ्याक्सिनो राख्ने सल्लाह भएको हो । साथै नजिकिँदै गरेको दसैं तथा तिहारमा भ्याक्सिनोका कपडा लगाउन कम्पनीले अनुरोध गरेको छ ।