काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७८ को प्रथम त्रैमासिक समीक्षा गरेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढ्दै गएका बेला राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षा भएको छ ।
आर्थिक क्षेत्रमा कोभिड–१९ को असर कम हुँदै गएकोले आर्थिक क्रियाकलाप विस्तार हुँदै जाने र विदेशी पर्यटकको आगमन बढ्न गई आर्थिक पुनरोत्थानमा सहयोग हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ । साथै निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढ्दै गएकाले केही समय तरलताको चाप विद्यमान रहने आँकलन बैंकले गरेको छ । केन्द्रीय बैंकले आगामी दिनमा मुद्रास्फितीमा समेत चाप पर्ने आँकलन गरेको छ ।
मौद्रिक नीतिको समीक्षामार्फत चालू आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपातको प्रावधानलाई ९० प्रतिशत कायम गर्दै कार्यान्वयनको खाका निर्माण गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाले आगामी असार मसान्तभित्रमा कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने कार्ययोजना तयार गरी सञ्चालक समितिबाट पास गराई राष्ट्र बैंकसमक्ष बुझाउनु पर्नेछ । समीक्षामार्फत २०७९ असार मसान्तसम्म लक्षित अनुपात कायम गरे हुने गरी लचकता अपनाएको छ । यसले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने परिसंघको धारणा रहेको छ ।
यसैगरी समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्थामिलाउने उल्लेख छ । यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाइ छ ।
विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको छ । यसका साथै गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको जनाउँदै विभिन्न वस्तुको आयातमा कडाई गर्ने संकेत देखाएको छ । परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरी सामान आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गर्दै आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चाँदीको आयातमा समेत कडाई गरेको छ ।
समीक्षामार्फत भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ । औद्योगिक कच्चा पदार्थ तथा मेसिनरी सामान भारतबाट विदेशी मुद्रामा आयात खुल्ला गर्न परिसंघले आवाज उठाउँदै आएको थियो ।