बिहीबार, मंसिर १६ २०७८ ०९:५२ PM

×

जलविद्युतमा लगानी बढाउँदै सीईडीबी, ३ आयोजनाबाट यसै वर्ष बिजुली उत्पादन 

images

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विभिन्न जलविद्युत् आयोजनाहरूमा लगानी गर्दै आफ्नो प्रभाव बढाउँदै लगेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सीईडीबीले ७३ मेगावाट क्षमताका ४ वटा आयोजना निर्माण गरिरहेको छ । ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको सीईडीबीले थप ४ वटा आयोजना एकैसाथ बनाइरहेको हो । राधीसमेत ५ आयोजनाको जडित क्षमता ७७ मेगावाट छ ।  

सीईडीबीले सहायक कम्पनीमार्फत आयोजना विकास गरेको छ । उसले कसुवाखोला हाइड्रोपावर लिमिटेडमार्फत ४५ मेगावाटको कसुवा, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडमार्फत १२ मेगावाटको दोर्दीखोला, युनिभर्सल पावर कम्पनी लिमिटेडमार्फत ११ मेगावाटको तल्लो खारेखोला र राप्ती हाइड्रो एन्ड कन्ट्रक्सन लिमिटेडबाट ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

युनिभर्सल पावरमार्फत निर्माण भइरहेको खारेखोलाको परीक्षण उत्पादन भइरहेको छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली चाँडै केन्द्रीय प्रसारण लाइनमा जोडिने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सीईडीबीले राधी विद्युत कम्पनीमार्फत राधी आयोजना निर्माण गरेको हो । सीइडीबीको स्वपुँजी लगानीमा बन्न लागेको कसुवा आयोजनाको काम यो वर्षमा सुरु हुने सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

वित्तीय विवरणमा चालु आर्थिक वर्षदेखि ३ वटा बिजुली उत्पादन थाल्ने जानकारी गराएको छ । यस्तै दोर्दी र रुकुमा गाड आयोजनाबाट यो आर्थिक वर्षदेखि नै बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ ।  

राधी विद्युतले प्रवर्द्धन गरेको राधी सानामा ६० करोड रुपैयाँ लगानी भएको छ । यस्तै खारेमा २ अर्ब, दोर्दीखोलामा २ अर्ब २९ करोड र रुकुमा गाडमा १ अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । कसुवा बाहेक ४ साना आयोजनामा स्वपुँजी (इक्विटी) र बैंकको ऋण गरी ६ अर्ब रुपैयाँ लगानी भएको छ । 

सीईडीबीले जलविद्युत आयोजनामा लगानी जुटाउन स्वपुँजी लगानी गरिरहेको छ । तत्कालिन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको सीईडीबीले सर्वसाधारणबाट लगानी जुटाएर आयोजना निर्माण गरिरहेको छ । अहिले क्लिन इनर्जी एनएमबी बैंकसँग मर्ज भइसकेको छ । 

दोर्दीखोलाको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी भइरहेको छ । त्यसपछि रुकुमगाड र कसुवाको आईपीओ आउनेछ । सबै आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने सीईडीबीको योजना छ ।  

सीईडीबीको सतप्रतिशत लगानीमा मोरङ इनर्जी, कसुवा खोला जलविद्युत् आयोजना, गण्डकी इनर्जी, खारे इन्भेष्मेन्ट कम्पनी छन् भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा ४.४ प्रतिशत, युनिभर्सल पावर कम्पनीमा ४.२८ प्रतिशत लगानी छ ।

त्यस्तै, सतप्रतिशत लगानी भएको गण्डकी इनर्जीले खोलेको लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीमा ८४.१९ प्रतिशत सेयर लगानी छ । सीईडीबीको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ छ ।

कम्पनीले ४४ करोड ८० लाख रुपैयाँ विभिन्न आयोजनाहरुमा लगानी गरेको छ । यस्तै २२ करोड ५० लाख रुपैयाँ मुद्धति निक्षेपमा राखेको वित्तीय विवरणमा उल्लेख छ ।

बिहीबार ९ मंसिर २०७८ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया