×

जावलाखेल ग्रुपले एक वर्षमा गर्यो साढे १४ अर्बको मदिरा व्यापार

images

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको जेजीआई डिस्ट्रिब्युटसन प्राइभेट लिमिटेडको सञ्चालन आम्दानी २७.३६ प्रतिशतले बढेको छ । सन् २०२१ मा कम्पनीले मदिरालगायत अन्य पेय पदार्थ बेचेर १४ अर्ब ५० करोड २७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

एक वर्षको अवधिमा जेजीआईको आम्दानी ३ अर्ब ११ करोड रुपैयाँ बढेको छ ।चालू आर्थिक वर्षको छ महिनामा कम्पनीले ६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।

सन् २०२० मा कम्पनीले ११ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो । यस्तै सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख  र सन् २०१८ मा १५ अर्ब २६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कोरोना महामारीले मदिरा र पेयपदार्थ व्यापारमा केही असर गरेर सञ्चालन आम्दानीमा कमी आउन आएको थियो । पछि अवस्था सामान्य हुन थालेपछि व्यापार वृद्धि हुन थालेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको कुल आम्दानीमा मदिरा समूहको ६१ प्रतिशत योगदान रहेको छ । जसमध्ये गोल्डेन ओकको योगदान मात्रै ५४ प्रतिशत छ ।

यस्तै सेतो मदिरा समूहमा रुसलान भोड्काको ३० प्रतिशत रहेको छ । तेस्रो सेग्मेन्टअन्तर्गत सन् २०२१ मा बियर बिक्री ६३ प्रतिशतले बढेको छ । जसमध्ये माउन्टेन स्ट्रङ आइस बियर बिक्रीबाट हुने आम्दानी ८४ प्रतिशत बढेको छ । नयाँ बियर बडवाइजरको बिक्री हिस्सा बढ्दै गएको कम्पनीले जनाएको छ ।

बडवाइजर बियर अमेरिकाको एबी इन बेभ कम्पनीको साझेदारीमा नेपालमा उत्पादन तथा बिक्री सुरु भएको हो । सन् २०२२ मा बजार हिस्सा बढेर १३ प्रतिशत माथि पुगेको छ । ६ महिनामा ६० लाख केसी बडवाइजर बियर बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको हात्ति ८ बियर र ब्लुओक मदिराको पनि बजार हिस्सा बढ्दै गएको छ । 

कम्पनीको बजारमा रुसलान भोड्का र ४० यूपीको ब्राउन स्प्रिट सेग्मेन्टमा गोल्डेन ओकको राम्रो कारोबार रहेको छ । गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्राण्डीको ६१ प्रतिशत आम्दानी छ । यस्तै सेतो मदिरा भोड्का जिन र आइलाको ३० प्रतिशत र बाँकी ९ प्रतिशत बियरबाट आम्दानी हुने गरेको छ ।

गोल्डेन ओक, ब्लुडाइमन्ड जिन र भोड्को आम्दानीको हिस्सा ८४ प्रतिशत रहेको कम्पनीले जनाएको छ । ग्रुपका कम्पनीबाट खरिद गर्ने वस्तुको भाउ बढेकाले सन् २०२१ मा मार्जिन २.२ प्रतिशतले घटेको छ ।

सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजीआईले स्थापना गरेको हो । कम्पनीले अहिले जावलाखेल ग्रुपका ५ वटा डिष्टिलरीले उत्पादन गरेको मदिरा र बियरको देशभरि बिक्री वितरण गर्दै आएको छ ।

जेजीआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिष्टिलरी लिमिटेड, विजय डिष्टिलरी, एसियन डिष्टिलरी, रोलिङ रिभर डिष्टिलरीले उत्पादन गरेका विभिन्न ब्राण्डको मदिराका साथै राज ब्रुअरीको बियर बिक्री वितरण गर्दै आएको छ । 

जावलाखेल ग्रुपभित्र रहेका ५ वटै कम्पनीमा विजयकुमार शाहको एकल स्वामित्व रहेको छ । शाह ग्रुपका अध्यक्ष तथा प्रवन्ध सञ्चालक हुन् । उनी मदिरा तथा पेयपदार्थ उत्पादनमा लागेको ४ दशक बढी भइसकेको छ ।

शाहले सन् १९७३ मा जावलाखेल डिष्टिलरी स्थापना गरेर पहिलो पटक सेतो मदिरा रुसलान भोड्का उत्पादन सुरु गरेका हुन् । हाल ग्रुपभित्र मदिरा, बियर र रिसर्च युनिट रहेको छ । ग्रुप हालसालै बियर व्यवसाय सुरु गरेको हो । कम्पनीको देशभरि ४ वटा गोदामका साथै २ सय ३७ वटा वितरक छन् । जसमा २० वटा वितरकको व्यापार हिस्सा ५४ प्रतिशत रहेको छ ।

ग्रुपभित्र रहेका मदिरा उद्योगले सरकारलाई बढी कर बुझाउने गरेको छ । बर्सेनि मदिराको अन्तःशुल्क बढ्दै गएपछि मूल्य पनि वृद्धि हुने गरेको छ । तयारी मदिरा आयातमा भएको उच्च भन्सारदरले नेपाली उद्योगलाई संरक्षण गरेको छ ।

भन्सार मूल्यमा हुने हेरफेरले जेजीआईको आम्दानीमा प्रभाव पार्दै आएको छ । जेजीआई डिस्ट्रिब्युसनले साढे ६ अर्ब रुपैयाँ ऋणको रेटिङ गरेको छ । इक्रा नेपाल लिमिटेडले इक्राएनपी ए फोर प्लस रेटिङ दिएको छ ।

शनिबार ११ असार २०७९ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया