×

नागढुंगा सुरुङमार्ग आयोजनाले माग्यो ३५ करोड, २९ प्रतिशत काम सकियो   

images

काठमाडौं । नागढुंगा–नौविसे सुरुङमार्ग आयोजनाले मुआब्जा वितरणको लागि थप ३५ करोड रुपैयाँ माग गरेको छ । मुआब्जा वितरणका लागि सरकारले दिएको ३० करोड रुपैयाँ बजेट अपुग भएपछि आयोजनाले थप रकम माग गरेको हो । 

सुरुमा तोकिएको मुआब्जा रकममा स्थानीयले चित्त नबुझाएपछि नयाँ मुआब्जा निर्धारण भएको छ । तर, सरकारले आवश्यकताअनुसार मुआब्जा रकम नदिँदा आयोजनालाई निर्माणको काम अगाडि बढाउन समस्या भएको थियो । सोही कारण अघिल्लो हप्ता मुआब्जा रकम माग गरेको फाइल सडक विभागमा पठाएको आयोजना प्रमुख नरेशमान शाक्य बताउँछन् । 

आयोजनाले पठाएको उक्त फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको सडक विभागले जनाएको छ । यातायात मन्त्रालयले आवश्यक प्रक्रिया पुर्याएर अर्थ मन्त्रालयमा पठाएपछि आयोजनाले रकम प्राप्त गर्ने छ । 

नागढुंगामा निर्माणाधीन सुरुङमार्ग आयोजनामा १ अर्ब रुपैयाँ १४ करोड रुपैयाँ मुआब्जा आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये अर्थले यसअघि ३० करोड रुपैयाँमात्रै रकमान्तर गरेर आयोजनालाई दिएको छ ।

अझै ७० करोड रुपैयाँभन्दा बढी थप मुआब्जा रकम आवश्यक पर्ने बताइएको छ । यद्यपि हाल माग गरिएको रकम पहिलो चरणका लागि मात्रै पुग्ने आयोजना प्रमुख शाक्य बताउँछन् । ‘थप माग गरिएको ३५ करोड रुपैयाँले मात्रै मुआब्जाका लागि पुग्दैन, फेरि अर्को फाइल पाठाउँछौं’, उनले भने । 

साउन २१ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्ग आयोजनाका कारण विस्थापित भएकाहरुको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको थियो । हाल करिब ५५ घर परिवारले मुआब्जा रकम बुझ्दैछन् ।आयोजनाले ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नुपर्नेछ । त्यसमध्ये करिब २३ सय मिटर खनेर सकिएको प्रमुख शाक्यले बताए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्ग खन्ने काम सुरु भएको थियो । सो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । 

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । त्यसमध्ये १६ अर्ब ६० करोड रुपैयाँ जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ । नेपालले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्नेछ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोला र काठमाडौंको यात्रा २० मिनेटमा गर्न सकिन्छ । 

प्रमुख शाक्यका अनुसार हाल सुरुङमार्गको समग्र भौतिक प्रगति २९ भएको छ । त्यसमध्ये सुरुङको मात्रै काम भने ४२ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । 

निर्माणमा संलग्न १ सय जना मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको आयोजनाले जनाएको छ । तर, कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण देखिए पनि सुरुङमार्ग निर्माणको काम नरोकिएको आयोजना प्रमुख शाक्य बताउँछन् । 


 

मङ्गलबार ११ माघ २०७८ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया