बिहीबार, मंसिर १६ २०७८ १०:२८ PM

×

चार महिनामा १५ हजार सवारी चालक कारबाहीमा

images

काठमाडाैं । जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधन चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म आइपुग्दा १४ हजार ९५० सवारी चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक नियमविपरीत सवारीसाधन चलाएर कारबाहीमा पर्दा १ करोड १ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिए । पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न तीव्र गति नियन्त्रण गर्नका लागि गत असोज ३ गतेदेखि राडरगनको प्रयोग गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा १४४ थान ट्राफिक कोण, ट्राफिक सङ्केत र होडिङबोर्ड राखिएको छ । सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ४३ कक्षा सञ्चालन गर्दा ७ हजार ६४० जना लाभान्वित भएका हमाल बताउँछन् । चालू आवमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ९३ पटक गरी १६ हजार ७१५ थान पर्चा पम्प्लेट वितरण गरिएको हमालले जानकारी दिए ।

‘चालकसँग एक मिनेट’ कार्यक्रमअन्तर्गत चालु आवमा २७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार ८९७ चालक सहभागी थिए । रासस

बुधबार ८ मंसिर २०७८ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया