काठमाडौं । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।
नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले पालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरेको थियो ।
सो साझेदारीमार्फत गाउँपालिकाहरूले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले उक्त सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरेका छन् । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।
सो कार्यक्रममा दिगो बैंकिङ परामर्शदाता राजु नेपाल, नबिल बैंकका बागमती प्रदेशअन्तर्गत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वलकुमार सुवेदी, नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरू, किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकाबासीहरूको उपस्थिति थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो ।