काठमाडौं । केही बैंक तथा वित्तीय संस्थाहरुले असोज १ गतेबाट ब्याजदर बढाएर निक्षेप उठाइरहेका छन् । वित्तीय संस्थाहरुले निक्षेपमा ब्याजदर बढेको सूचना सार्वजनिक गरेसँगै वित्तीय क्षेत्रमा समग्र ब्याजदर बढ्ने चिन्ता जाहेर गरे । अझ त्यसको सिधा असर सेयर बजारमा पर्यो र नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर घट्यो । यसले केन्द्रीय बैंकको नीतिका कारण ब्याजदर बढेको भन्दै व्यापक आलोचना भयो ।
आफ्नो आलोचना बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले ब्याजदर बढाएका वित्तीय संस्थाहरुसँग ब्याजदर बढाएको अवस्थाका बारेमा लिखित र मौखिक जानकारीहरु मागिरहेको छ । तर, केन्द्रीय बैंकले बढेको ब्याजदरमा निक्षेप उठाउन रोकेको छैन । जसका कारण ब्याजदर बढाएका बैंकहरुले बढेकै ब्याजमा निक्षेप उठाईरहेका छन् । तर, ब्याजदर बढाउने तयारीमा रहेका वित्तीय संस्थाहरु भने केन्द्रीय बैंकको हस्तक्षेप हुने डरले अघि बढ्न सकेका छैनन् ।
बैंकहरुले धमाधम मुद्धतीको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएपछि केन्द्रीय बैंकले साउनदेखि असोजसम्मको ‘वर्कसीट’ समेत मागेर अध्ययन गरिरहेको छ । यही बीचमा केन्द्रीय बैंकले ब्याजदर बढाउने विषयमा होडबाजी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकको निर्देशनका कारण केही बैंकले ब्याजदर बढाउने तयारी गरेपछि अहिले रोकेका छन् ।
केन्द्रीय बैंकको निर्देशनअघि नै मुद्धतीको ब्याजदर बढाइसकेका बैंकले अहिले पनि महँगो ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन् । सनराइज, नबिल, कुमारी, सिभिल, सिटिजन्स बैंकहरुले निक्षेपको ब्याजदर बढाएर त्यही अनुरुप निक्षेप संकलन गरिरहेका छन् । त्यसैगरी मुक्तिनाथ विकास बैंकले पनि नयाँ ब्याजदर अनुसार निक्षेप संकलन गरिरहेको छ ।
केन्द्रीय बैंकले असोज ४ गते एकीकृत निर्देशन २०७७ को १५ बुँदाको बर्खिलाप गर्दै बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको भन्दै ७ गतेभित्र वर्कसीट माग गरेको थियो । असोज ७ गतेभित्र सबै बैंक तथा वित्तीय संस्थाले विवरण बुझाइसकेका छन् । त्यो विवरणमाथि केन्द्रीय बैंकले अध्ययन गरिरहेको छ ।
केन्द्रीय बैंकले विवरणमाथि अनुसन्धान गरिरहेको बताए पनि ब्याजदर बढाएका बैंकहरुले अहिले पनि नयाँ ब्याजदर अन्तर्गत निक्षेप संकलन गरिरहेका छन् । उनीहरुले बढाएको ब्याजदर फिर्ता गराउन केन्द्रीय बैंकले पहल चालेको छैन ।
एक दिन मात्रै नयाँ स्किमअन्तर्गत ब्याज उठाउँदा ठूलो परिमाणमा निक्षेप संकलन हुन्छ । अध्ययनकै नाममा लामो समय लगाउने हो र पुरानै ब्याजदरमा बैंकहरुलाई नर्फकाउने हो भने केही बैंकले मात्रै निक्षेप बढाउने अवस्था आउने बैंकरहरु बताउँछन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार अहिले बैंकहरुले पठाएका विवरणमाथि अध्ययन भइरहेको छ । अध्ययन गरिसकेपछि मात्रै केन्द्रीय बैंकले बैंकले सार्वजनिक गरेको ब्याजदरको नयाँ स्किम खारेज गर्ने वा नगर्ने भन्ने निर्णय गर्छ ।
केन्द्रीय बैंकको निर्देशनपछि धेरै बैंक नयाँ ब्याजदर सार्वजनिक गर्नबाट पछि हटेका छन् । ६ वटा बैंकले मात्रै अहिले ब्याजदर बढाएर निक्षेप उठाइरहेका छन् । बाँकी २१ वटा बैंकहरुलाई निक्षेप संकलन गर्न सकस भइरहेको मात्रै होइन भएको निक्षेप पनि गुम्ने डर भएको छ ।
आफ्नो संस्थामा भएको मुद्धति निक्षेपको अवधि सकिएको अवस्थामा थप ब्याज अफर गर्न नसक्दा नविकरण गर्न कठिन भएको एक बैंकरले बताए । ति बैंकरकाअनुसार एकातिर आफुसँग भएको निक्षेप बाहिरिने र थप निक्षेप लिन पनि नपाउँदा समस्या भईरहेको छ ।
‘कि केन्द्रीय बैंकले सबैलाई ब्याज बढाएर निक्षेप संकलन गर्न दिनुपर्यो । होइन भने ब्याज बढाएर निक्षेप उठाइरहेकालाई तत्काल निक्षेपको ब्याजदर घटाउन निर्देशन दिनुपर्छ,’ एक बैंकरले भने, ‘लेवल प्लेइङ फिल्ड सबैलाई बराबर दिनुपर्छ । केन्द्रीय बैंकले कसैलाई काख र कसैलाई पाख गर्न मिल्दैन ।’