×

औषधि व्यवसायी संघ गण्डकी प्रदेशको ४९ औं स्थापना दिवस मनाइयो

images

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले ४९ औं संस्था स्थापना दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलनसहित केक काटेर शुभकामना आदान प्रदान गरी मनाएको छ  । 

संघको कार्यलयमा आयोजित एक कार्यक्रममा बीच दिप प्रज्वलन र शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय सचिव एवं संघका सल्लाहकार यमनाथ पौडेलले प्रदेशमा औषधि व्यवस्था विभागको शाखा नखुल्दा व्यवसायीले संघीयताको अनुभूति गर्न नपाएको गुनासोलाई केन्द्रले विशेष चासोको रुपमा हेरेकोे र प्रदेशको समस्यालाई समाधान गर्न समन्वयकारी भूमिका खेल्ने बताए । 

उनले गण्डकी प्रदेशमा मात्र १५ सयभन्दा बढी औषधि व्यवसायीहरुको अद्यावधि नवीकरणदेखि सिफारिस लिन काठमाडौं धाउनु परेको बाध्यतालाई सहज बनाउनेतर्फ पनि केन्द्रले ध्यान दिने बताए  । 

जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील व्यवसायको अनुगमन र नियमनमा समेत यसले प्रत्यक्ष असर परेको उनको भनाइ थियो । 

संघका केन्द्रीय सदस्य एवं सल्लाहकार टंकप्रसाद अधिकारीले व्यवसायसँग जोडिएका कतिपय गुनासोको सुनुवाइ तत्काल सम्बोधन गर्नुपर्ने भए पनि प्रदेशमा स्वास्थ्य विभागको शाखा नहुँदा व्यवसायीले लामो समयदेखि समस्या झेलिरहेको र  सम्बन्धित निकायले यस विषयमा गम्भीर हुनुपर्ने धारणा राखे ।  

संघका प्रदेश अध्यक्ष कृष्ण पाण्डेले प्रदेश तहमा औषधि व्यवस्था विभागको शाखा स्थापनाका लागि प्रदेश स्थित स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । सो अवसरमा उनले संघले  व्यवसायलाई मात्र नहेरी सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको जानकारी गराए । 

कार्यक्रममा संस्थाका साविक गण्डकी अञ्चल अध्यक्ष रामबहादुर केसी, उपाध्यक्ष मेघनाथ काफ्ले, कास्की जिल्ला अध्यक्ष विक्रम पन्त, कार्यक्रम संयोजक संजिव देवकोटा, थोक तर्फको उपाध्यक्ष झलक शर्मा, खुद्रातर्फको उपाध्यक्ष दयानिधि पौडेल लगायतले  व्यवसायमा देखिएका चुनौतीसँगै आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका बारेमा आफ्नो धारणा राखेका थिए । 

कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष शिवबहादुर केसीले संस्थाको उद्देश्यसहित स्वागत र महसाचिव केशरी प्रसाद  तिवारीले कार्यक्रम सञ्चालन सहित संघको भावी योजनाको बारेमा जानकारी गराएका थिए ।  

शुक्रबार​ १० असार २०७९ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया