×

५० ठूला लगानीकर्ता माझ उत्कृष्ट २० स्टार्टअप व्यवसायीद्वारा योजना प्रस्तुत, जुट्ला त लगानी ? 

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ‘एफएनसीसीआई’ले अघि सारेको ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रमा उत्कृष्ट २० नविनतम उद्यमीले आफ्नो योजना प्रस्तुत गरेका हुन् । नविनतम उद्यमीले आफ्नो व्यवसाय विस्तार गर्न थप लगानी जुटाउन ठूला ५० लगानीकर्ता माझ योजना प्रस्तुत गरेका हुन् । योजना प्रस्तुत गर्ने २० व्यवसायी मध्येका रासन टेक प्राइभेट लिमिटेडमा मुरारका समूहले लगानी गर्ने घोषणा समेत गरेको छ । 

मुलुकभित्र नविनतम सोंच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरू गरेको जनाएको छ । 

महासंघले एक वर्ष अघि स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आइरहेको जनाएको छ । व्यवसायीहरूले प्रस्तुत गरेको योजनामा लगानीकर्ताले लगानी गर्ने रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै सहजीकरण गर्ने जनाएको छ । 

महासंघ आफैंले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसंग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेसनमा भाग लिएका थिए । 

पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपीन, सूचना प्रविधि, सेवासँग सम्बन्धित विजनेश योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत वर्ष चैत्त ९ गते ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो । 

पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस(नेम्स),अन्सु टेक्नोलोजि प्रालि, लुक्ला आउटडोर,पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स,बिहे नेपाल,सारङ,कारखाना,ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेस,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस छन् ।

महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ । युवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्र्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू जस्तो ठूला उद्योगसंगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फण्डको स्थापना, इन्कुवेशन केन्द्र संचालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन् । 

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानुनी रूपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने उल्लेख गरेको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुभारम्भ गर्नु हुँदै महासंघको यो कार्यक्रमले नविनतम सोंच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्याउने विश्वास प्रकट गरे । 

महासंघको आर्थिक रूपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रंजितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास प्रकट गरे । सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेस गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए । 

कार्यक्रममा महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्ष, कार्यकारिणी समितिका सदस्यहरू, स्टार्टअप एण्ड इनोभेसन समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, स्टार्टअप व्यवसायीहरूलगायतको उपस्थिति थियो । 

शुक्रबार​ १० असार २०७९ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया