काठमाडौं। सोल्टी होटलमा भएको दुबई रियलइस्टेट एक्स्पोमा किनेको घरको भुक्तानी दिने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने भएको छ।
नेपालीलाई लक्ष्य गर्दै शनिबार र आइतबार काठमाडौं सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरेका थिए। सार्वजनिक सूचना दिएर दुबई प्रोपर्टी शो आयोजना गर्न थालेपछि गत पुस २९ मा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशमा घरजग्गा किने कारबाही गर्ने चेतावनी दिएको थियो।
दुबईमा घरजग्गा बेच्न नेपालमा 'प्रोपर्टी शो' गर्ने पाँच भारतीय पक्राउ
नेपाल राष्ट बैंकले मंगलबार एक सूचना जारी गर्दै नेपालबाट विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न कानुनले रोकेको र नियमविपरित भुक्तानी दिए कारबाही हुने जानकारी गराएको हो।
केही दिनअघि सोल्टी होटलमा दुबई घरजग्गा मेला भएको थियो। उक्त मेलामा नेपालीहरुले घर किनेको आंशका गर्दै केन्द्रीय बैंकले भुक्तानी नदिन बैंक तथा वित्तीय संस्थालाई सचेत गराएको हो।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिएको भेटिए कारबाही गर्ने भनेको छ।
नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी गर्नु हुँदैन। जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचार–प्रसार समेत) र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नु र नगराउनु हुन राष्ट बैंकले भनेको हो।
प्रतिक्रिया