×

निर्देशनमात्र दिन्छन् पर्यटनमन्त्री किराँती!

images

काठमाडौं। माघ ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे जिम्मेवारी लिएका सुदन किराँतीको दैनिकी निर्देशन दिने र अनुगमन गरेर बितिरहेको छ।

नियुक्त भएको एक साता बितिसक्दा समेत किराँती मन्त्रालयमातहतका विभागमा अनुगमन र `ब्रिफिङ´ को नाममा दौडधुपमा लागिरहेका छन्।

केही थान युटुबर र पत्रकार साथ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्ससम्म अनुगमन/छड्केमा निस्किरहेका उनी जहाँ-जहाँ पुग्छन् त्यहाँ चर्चामा आउने खालका भाषण दिइहाल्छन्।

हुन त छड्के र अनुगमनका नाममा विभिन्न ठाउँ पुग्ने मन्त्री उनी पहिलो भने हाेइनन्।  यसअघि पर्यटनमन्त्री नियुक्त भएका सबैले तामझामसाथ त्रिभुवन विमानस्थलदेखि नेपाल एयरलाइन्स हुँदै विभिन्न सांस्कृतिक सम्पदा निरिक्षणमा निस्किने गरेका थिए।

यतिसम्म कि अधिकांश मन्त्रीले त्रिभुवन विमानस्थलको शाैचालय सफा राख्नेदेखि लगेज व्यवस्थापन गर्न समेत निर्देशन दिँदै आएका छन्। विमानस्थलमा फोहोर शाैचालय देखाउँदै कर्मचारीलाई तत्कालै सफा गर्न निर्देशन दिने गरेका छन्। जसलाई नवनियुक्त पर्यटन मन्त्री किराँतीले पनि निरन्तरता दिएका छन्।

त्यतिमात्र हाेइन, सोमबार नेपाल एयरलाइन्स पुगेर एक महिनाभित्र `अनलाइन टिकट सिस्टम´ व्यवस्था नगरे राजीनामा दिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिए। किराँतीकाे निर्देशन अहिले वरसामाजिक सञ्जालमा `भाइरल´ भइरहेको छ।

मन्त्री किराँतीले नेपाल एयरलाइन्सका कर्मचारीले गर्ने दैनिक कामको विवरणसमेत आफूलाई पठाउन निर्देशन दिए। यस्तो निर्देशन सार्वजनिकरूपमा भन्नुभन्दा नीतिगत निर्णय गरेर कार्यान्वयनमा गएको भए राम्रो हुने निगमका एक अधिकारीकाे गुनासाे छ। 

मन्त्री नियुक्त भएपछि आन्तरिकरूपमा विज्ञहरूसँग छलफल गरेर रणनीतिक योजना बनाउन ध्यान केन्द्रित गर्नुपर्नेमा `स्टन्ट´मा लागेको भन्दै उनको कार्यशैलीप्रति विरोध हुन थालेको छ।

विमानस्थलमा सयौं कर्मचारी रहँदा पनि शाैचालय सफा गर्न पर्यटनमन्त्रीले निर्देशन दिनुपर्ने नियति गलत रहेको होटल एसोसिएन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन्। 

’जुन प्रयोजनका लागि कर्मचारी राखिएक छन्, त्यही कामका लागि मन्त्रीले बारम्बार निर्देशन दिइरहनुपर्ने अवस्था आउनु नै गैरजिम्मेवारी हो,´ उपाध्यक्ष शाहले भने, `उहाँले त नीतिगत निर्णय गरेर एक्सनमा लाग्नुपर्ने बेला हो, निर्देशनमात्र दिने हाेनइन।‘

शाैचालय सफा गर्न विमानस्थलले कर्मचारी राखेका हुन्छन्। तर, मन्त्री हुनासाथ विमानस्थ भ्रमण गर्ने र शाैचालय सफा राख्नेदेखि पानीको व्यवस्थासमेत गराउन निर्देशन दिने प्रवृृत्ति स्टन्टबाहेक केही हाइन।

चर्चामा आउन अन्टसन्ट निर्देशन दिएपछि कार्यान्वयन भयो वा भएन भनेर अनुगमन भने हुने गरेको छैन। जसले गर्दा मन्त्रीको निर्देशन पनि पछिल्लो समय सस्तो र प्रचारबाजीमात्र हुँदै गएको छ।

नेपाल एयरलाइन्सको टिकट अनलाइन गर्न निर्देशन यसअघिका पर्यटनमन्त्री प्रेम आलेले पनि दिएका थिए।

एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले आन्तरिक उडानका लागि मोबाइल एप बनाइसकेको र अन्तर्राष्ट्रियका लागि भने तयार भइरहेको बताइन्।

हाल अन्तर्राष्ट्रिय उडानका लागि वेबसाइटबाट अनलाइन टिकट काट्न सक्ने व्यवस्था भए पनि मोबाइल एप निर्माणको काम भने अन्तिम चरणमा रहेको उनले बताइन्।

नागरिक उड्डयन प्राधिकरणमा ब्रिफ्रिङ लिँदै मन्त्री किराँतीले आर्थिक अनुशासनमा रहन निर्देशन दिए। प्राधिकरणभित्र खासगरी महानिर्देशकमा बढुवा हुन आर्थिक चलखेलको आरोप लागिरहेका बेला मन्त्री किराँतीले आर्थिक अनुशासनमा रहन निर्देशन दिए।

तर, महानिर्देशकदेखि सरुवा र बढुवाका लागि आवश्यक नीतिनियम कस्तो छ भनेर अध्ययन गर्ने भनेर प्रतिबद्धता भने जनाएनन्।

यसअघिका मन्त्रीले गरेका कामको विवरण लिने र अब गर्ने कामका लागि आवश्यक नीतिनियम बनाउनुभन्दा चर्चाका लागि स्टन्ट भाषण दिँदै जाने प्रवृत्ति मन्त्रीहररूमा मौलाउनु पर्यटन क्षेत्रका लागि उचित नभएको पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले बताए।

कोभिड र आर्थिक मन्दीका कारण ओरालो लागेको पर्यटन क्षेत्र सुधारको कार्यभार रहेको पर्यटन मन्त्रालय सानातिना विषयमा अल्झिनु गलत भएको पर्यटन व्यवसायीको भनाइ छ।

बुधबार ११ माघ २०७९ ०७:३० AM मा प्रकाशित

प्रतिक्रिया