बिहीबार, मंसिर १६ २०७८ १०:३१ PM

×

मास्क र स्यानिटाइजर आयात बढेपछि स्वदेशी उद्योग बने धरासायी 

images

विराटनगर । विदेशबाट आयातित मास्क र स्यानिटाइर सस्तो भएपछि स्वदेशी उत्पादन घट्दै गएको छ । आयातित मास्क र स्यानिटाइजर सस्तो भन्दै व्यापारीहरूले स्वदेशमा उत्पादन भएको मास्क लिन छाडेका हुन् ।

माग घटेपछि उद्योगीहरूले आफ्नो उत्पादन क्षमता पनि घटाइरहेका छन् । बजारमा माग नभएपछि पूर्वका मास्क स्यानिटाइजर उद्योगले आफ्नो उत्पादनमा कटौतीसमेत गरेका छन् । 

चीनबाट बढी मास्क र स्यानिटाइजर आयात हुने गरेको उद्योगी अनिल रिजालले बताउँछन् । सरकारले मास्क र स्यानिटाइजरको मूल्यांकन कम गरेकाले आयात बढी भएको रिजालले बताए । 

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं रिजालको हाइजिन इन्डस्ट्रीका सञ्चालकसमेत रहेका रिजाल सरकारले सबैभन्दा पहिले मास्कको आयातमा रोक लगाउनुपर्ने बताउँछन् । ‘रोक लगाउन नमिले एन्टी डम्पिङ ड्युटी एक्ट लगाउनुपर्छ’, उनले भने, ‘सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर  आयातलाई निरुत्साहित गर्नुपर्छ ।’ 

गुणस्तरीय मास्कको उत्पादनमा स्वदेशी उद्योगहरू सक्षम भएकाले आत्मनिर्भर भएकाले मास्कको पैठारी रोक्नुपर्ने उद्योगी रिजालको भनाइ छ । ‘करोडौंको मेसिन किनेर आफ्नै कच्चा पदार्थ प्रयोग गरेर मास्क बनायो, बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको छ । यस्तो अवस्थामा हामीले कसरी उत्पादन गर्न सक्छौं ? उनले प्रश्न गरे ।

आयातित मास्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगहरूको उत्पादन क्षमताभन्दा आधा घटेको उनले बताए । यसले गर्दा धेरैको रोजगारी पनि गुमेको उनको भनाइ छ । पछिल्लो समयमा उद्योगको उत्पादन ३० प्रतिशतमा झार्नुपरेका रिजालले क्यापिटल नेपाललाई जानकारी दिए । उद्योग धरासायी अवस्थामा पुगेको उनले बताए । 

सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुको साटो विदेशबाट आयातित माक्सलाई कर कम र स्वदेशी उत्पादनलाई बढी लगाएको उद्योगी रिजालको भनाइ छ । आफूहरूले संस्थागत तथा उद्योगीहरूले सामूहिक रूपमा पनि सरकारसँग आयातित मास्कलाई निरुत्साहित गर्न र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उनले जानकारी दिए । ‘आयातित मास्कको गुणस्तरका बारेमा जानकारी नै नलिई हचुवाको भरमा नीति बनाएको कारण स्वदेशी उद्योगहरू संकटमा परेको उनको भनाइ छ ।

पूर्वका उद्योगले मात्रै दैनिक २ लाख ७५ हजार वटासम्म मास्क उत्पादन गर्न सक्छन् । मास्कमा आत्मनिर्भर भए पनि सरकारको उपेक्षाका कारण बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उद्योगी रिजालले बताए । विराटनगरमा मात्र ४ वटा माक्स स्यानिटाइजर उद्योग सञ्चालनमा छन् । 

विराटनगर भन्सार कार्यालयबाट धेरै मास्क स्यानिटाइजर नेपाल भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अनुसार पछिल्लो ६ महिनामा मात्र ३० करोड ६१ लाख रुपैयाँ बराबरको २७ करोड ८० लाख ९ हजार ५ सय ८५ युनिट मास्क आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । 

यादवले दिएको जानकारीअनुसार २०७७ सालको चैत महिनामा ३३ लाख ३७ हजार ६७१ रुपैयाँ बराबरको मास्क आयात भएको थियो । त्यसैगरी २०७८ वैशाखमा ४ लाख ५६ हजार ७ सय ५३ रुपैयाँ बराबरको मास्क आयात भएको थियो । जेठमा २० लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको मास्क आयात भएको छ ।

त्यसैगरी असारमा १ करोड ७७ लाख ५ हजार  ६६ रुपैयाँ बराबरको मास्क आयात भएको थियो । साउनमा ५८ लाख १९ हजार १ सय २१ रुपैयाँ बराबरको मास्क आयात भएको छ । १४ लाख ३८ लाख ९ सय ३१ रुपैयाँ बराबरको मास्क साउन महिनामा आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ । असारमा सबैभन्दा बढी मास्क आयात भएको छ । 

भन्सार कार्यालय दिएको जानकारीअनुसार स्यानिटाइजर पनि उत्तिकै आयात भएको छ । ४० लाख ४४ हजार ६ सय ८४ रुपैयाँ बराबरको १४ हजार ९ सय ८२ केजी स्यानिटाइजर आयात भएको छ । पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी असार महिनामा २५ लाख ५६ हजार २ सय ४० रुपैयाँ बराबरको १३ हजार २ सय ६६ केजी स्यानिटाइजर आयात भएको छ । 


 

बिहीबार ७ असोज २०७८ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया