×

विवाद चुलिएपछि कार्ल्सबर्ग भारत युनिटबाट खेतान समूहका प्रतिनिधि हटाउँदै

images

काठमाडौं। डेनमार्कको वियर उत्पादक कम्पनी काल्सवर्गले भारतस्थित युनिट सञ्चालक समितिमा नेपालको खेतान समूहबाट प्रतिनिधित्व गरिरहेका केही सदस्यलाई हटाउने भएको छ। 

images

भारतमा काल्सवर्ग र नेपालको खेतान समूहबीच विवाद, कम्पनीले अनियमितता गरेको आरोप 

खेतान समूहको प्रतिनिधिले काल्सवर्ग भारतको कार्यशैलीविरुद्ध औपचारिक रुपमा चिन्ता व्यक्त गर्दै संस्थागत सुशासन नभएको र अनियमितता भएको आरोप लगाइसकेको छ । 

संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) का स्वार्थविपरीत काम गरेको आरोप लगाउँदै डेनमार्कस्थित कार्ल्सबर्ग मुख्यालयले खेतान समूहका प्रतिनिधिलाई भारतीय युनिट सञ्चालक समितिबाट हटाउन लागेको हो।

सन् २०१९ मा पहिलोपटक कार्ल्सबर्ग र खेतान समूहका प्रतिनिधिबीचको विवाद सतहमा आएको थियो। त्यसबेला खेतानका प्रतिनिधिले कार्ल्सबर्गद्वारा व्यापार छुट, विज्ञापन र बिक्री प्रवर्द्धनसम्बन्धी कानुन पालना नगरिएको भन्दै भारतीय सरकारलाई छानबिन गर्न आग्रह गर्नुअघि आन्तरिकरूपमा विरोध गरेका थिए। 

कार्ल्सबर्गको भारतीय युनिट सञ्चालक समितिमा खेतान समूहका तीनजना प्रतिनिधि छन् भने डेनमार्कको काल्सवर्गका सात सदस्य छन्।

यस घटनाबारे काल्सबर्ग मुख्यालयले बेलायती समाचार संस्था रोयटर्सलाई लेखेको इमेलमा ‘खेतान समूहबाट प्रतिनिधित्व गर्ने केही सदस्यलाई हटाउनका लागि काम गरिएको, खेतान समूहका प्रतिनिधिले लगाएका आरोप कपोलकल्पित र भ्रामक रहेको’ उल्लेख छ। तर, कार्ल्सबर्गले सञ्चालक समितिका कतिजनालाई कारबाही गरेको हो भनेर प्रष्ट खुलाएको छैन। 

यस घटनासँग प्रत्यक्षसम्बन्ध राख्ने एक स्रोतका अनुसार खेतान समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजनालाई कार्ल्सबर्गले कारबाही गरेको छ।

‘खेतान समूहका दुई प्रतिनिधिलाई कार्ल्सबर्गले कारबाही गरेको छ,’ स्रोतले भन्यो, ‘खेतानकै तेस्रो प्रतिनिधिलाई कारबाही गरेको छ कि छैन भन्ने अझै खुलेको छैन।’

कार्ल्सबर्गले गत महिना खेतान समूहविरुद्धको मध्यस्थता मुद्दा जितेको थियो। पुनः त्यसैका विरुद्ध खेतान समूहले आर्थिक क्षतिपूर्ति मागिरहेको थियो।

‘जबसम्म हामीबीचको संयुक्त लगानी कायम रहन्छ तबसम्म हाम्रो साझेदारले नयाँ बोर्ड सदस्य प्रतिस्थापन गर्न पाउँछन्,’ कार्ल्सबर्गले जारी गरेको औपचारिक विज्ञप्तिमा उल्लेख छ।

ताजा घटनाबारे खेतान समूहका सञ्चालक चन्द्रप्रकाश (सिपी) खेतानसँग प्रतिक्रिया लिँदा उनले ‘संयुक्त लगानीका सम्बन्धमा काल्सवर्ग व्यवस्थापनसँग असहमति रहेको’ भन्दै संवेदनशील विषय भएकाले थप बोल्न नमिल्ने बताएका थिए। 

त्यसैगरी कार्ल्सबर्गको भारतीय युनिटका लेखापरीक्षकले माउ कम्पनीले गल्ती गरेको आरोप लगाउने खेतान समूहका तीन प्रतिनिधिका भनाइ उद्धृत गर्दै कम्पनीको वित्तीय राय दिन दुईपटक अस्विकार गरेका थिए। 

कार्ल्सबर्गले गलत कार्य गरेको अस्विकार गरे पनि यसअघि ‘कम्पनीका नीति र आचारसंहिता उल्लंघनलाई अस्विकार गर्न नसक्ने’ बताएको थियो। 
कार्ल्सबर्ग भारतको सबैभन्दा ठूलो वियर उत्पादक कम्पनी हो। यसको बजार हिस्सा १७ प्रतिशत छ। भारतमा यो ७ अर्ब अमेरिकी डलरबराबरको कम्पनी हो। 

कार्ल्सबर्ग भारतमा खेतान समूहका सञ्चालक सिपी खेतानको लगानी छ। उनी सिंगापुर बसेर नेपाल र भारतको व्यवसाय हेर्छन्। 

शुक्रबार​ ७ असोज २०७९ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया