×

काठमाडौं महानगरपालिकाले २५ अर्बभन्दा बढीको बजेट ल्याउने

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि  २५ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको  चालू आर्थिक वर्षका लागि  १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँ बराबरको बजेट बिनियोजन गरिएको थियो । 

आगामी आवका लागि चालूआवको भन्दा ७ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने  पनि उनको भनाइ थियो ।  

चालू आवमा जस्तै  भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ । 

चालू आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।  चालू आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रूपैयाँ, आर्थिक विकास क्षेत्रमा  ५५ करोड रूपैयाँ, सामाजिक विकासमा  २ अर्ब ७० करोड रूपैयाँ, पूर्वाधार विकासमा  १० अर्ब ८० करोड रूपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरिएको थियो ।  

आगामी वर्षका लागि महानगरले भोलि शुक्रबार बजेट ल्याउन तयारी गरेको छ ।  

बिहीबार ९ असार २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया