काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।
सो अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले १ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रूपैयाँको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रूपैयाँको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।
व्यापार घाटा चुलिँदै
चालू आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाख रूपैयाँको व्यापार घाटा भएको थियो ।
यसैगरी चालू आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रूपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४५ करोड रूपैयाँको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।
१४१ देशबाट आयात
चालू आवको पहिलो ६ महिनामा नेपालमा १ सय ४१ देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रूपैयाँ मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
भारतबाट सो अवधिमा ६ खर्ब ३अर्ब ५४ करोड ५१ लाख रूपैयाँको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रूपैयाँ मूल्य बराबरका वस्तु आयात भएको छ ।
यसैगरी नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ । रासस