काठमाडौं । सरकारले माघ १० गते (भोली)बाट मलेसिया तथा खाडी मुलुकमा भिजिट भिसामा जान रोक लगाएको छ । मुलुकमा बढ्दो विदेशी मुद्रा सञ्चितिको अभावलाई पूर्ति गर्न अतिरञ्जित तथ्यहरुको सहारा लिएर भिजिट भिसामा हुने भ्रमणलाई बन्देज गरेको हो ।
बढ्दो आयात, घट्दो रेमिट्यान्सका कारण भुक्तानी सन्तुलन खलबलिएपछि नेपाल राष्ट्र बैंकले चालू वर्षमा विलासी बस्तुहरुको आयातमा कडाई गर्दै आएको छ । विदेशी मुद्रा सञ्चिति घटेर बस्तु तथा सेवा आयात धान्नै नस्क्ने अवस्था आएपछि सरकारले भिजिट भिसामा हुने भ्रमण रोक्ने निर्णयमा पुगेको हो ।
अध्यागमन विभागको अनौपचारिक तथ्यांकअनुसार पछिल्लो समय औसतमा दैनिक मलेसिया तथा खाडी मुलुकमा ७० जना व्यक्ति भिजिट भिसामा घुम्न जाने गरेका छन् । यसआधार मासिक २ हजार १ सय र वार्षिक २५ हजार ५ सय जनाभन्दा बढी व्यक्तिहरु भिजिट भिसामा खाडी मुलुक जान्छ ।
भिजिट भिसामा जानेले अधिकतम १ हजार ५ सय अमेरिकी डलर सटही सुविधा पाउँछन् । यसरी हेर्दा भिजिट भिसामा खाडी मुलुक जाने नेपालीले सटही सुविधावापत वार्षिक ३ करोड ८३ लाख डलर प्रयोग गर्छन् । पछिल्लो निर्णयले डलर सटहीमा परेको दबाबलाई मत्थर गर्ने अपेक्षा सरकारले गरेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले भिजिट भिसामा घुम्न जाने प्रवृत्तिलाई रोक्न अतिरञ्जित तथ्यहरुको सहारा लिएको हो ।
माघ ७ गते गृह मन्त्रालयले विभिन्न उद्देश्य राखि खाडी तथा मलेसिया गई विचल्ली पर्ने गरेको गुनासा, सामाचार र सूचनाहरु प्राप्त गरेको भन्दै ती राष्ट्रको भिजिट भिसामा हुने भ्रमणलाई तत्कालका लागि रोक लगाएको सूचना जारी गरेको छ । तर, सतहमा यस्ता कुनै पनि सूचना, गुनासा र समाचारहरु सतहमा आएका छैनन् ।
जबकी विदेश घुम्न जाने व्यक्ति आफू वस्ने अवधिभरका लागि होटल बुकिङ गरेर जान्छ । त्यसका अलवा घुम्न जाने व्यक्तिले नेपालबाट डलर लिएर गएकै हुन्छन् । त्यति मात्र घुम्न जानेहरु प्रायः सम्भ्रान्त परिवारका हुने भएकाले उनीहरुसँग डलर कार्ड पनि साथै हुन्छ । डलर कार्डमा कुनै सीमा हुँदैन । त्यसैले घुम्न गएका नेपालीहरु विचल्ली परे भन्नु आफैमा हास्यास्पद हो । तैपनि सरकारले घुम्न गएकाहरु विचल्लीमा परेको बहाना देखाएर भ्रमण रोकेको छ ।
पछिल्लो समय नेपालीहरुको रोजाइमा परेको गन्तब्य हो, दुबई । कोभिडको संक्रमण कायमै रहेका बेला पनि नेपालीहरु दुबई जाने क्रम रोकिएको छैन । अध्यागमन विभागकाअनुसार दैनिक भिजिट भीसामा ७० जनाभन्दा बढी मानिसहरु दुबइ पुग्ने गरेका छन् । यद्यपी विभागले आधिकारीक तथ्यांक भने उपलब्ध गराएको छैन ।
माल्दिभ्स पनि महङ्गो गन्तव्य भएकाले नेपालीहरुको खासै रोजाइमा पर्दैन । मलेसिया ठाउँ सस्तो भए पनि धरै घुम्ने क्षेत्रहरु नभएले नेपालीहरुको रुचीमा पर्दैन । विभागका अधिकारीहरुले यथार्थ विवरण संकलनको काम भईरहेकाले केही दिनमा जानकारी आउने बताएका छन् ।
केन्द्रीय बैंकका अधिकारीहरु एक महिना मात्रै सरकारी निर्णय कार्यान्यन गर्न सकिएमा विदेशी मुद्रा सञ्चितिमा ठूलो राहत मिल्ने बताउँछन् । एक महिना भिजिट भिसा बन्देज हुँदा ३० लाख डलरभन्दा बढी रकम विदेशी मुद्रा सञ्चित रहन्छ । विप्रेषण आप्रवाह घट्दोक्रममा रहेको स्थितिमा डलर जोगाउन भिजिट भिसाको भ्रमण रोकिनु जायज भएको बुझाई सरकार र राष्ट्र बैंकको छ । केन्द्रीय बैंकले गत असोजदेखि विदेशी मुद्रा सटहीमा कडाई गर्दै आएको थियो ।
चालू आर्थिक वर्षको ५ महिनासम्म केन्द्रीय बैंकसँग कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर छ । जुन २०७८ असारको तुलनामा १४.७ प्रतिशतले थोरै हो । चालू वर्षको पाँच महिनाको आयातलाई आधार मान्दा हाल मुलुकसँग भएको विदेशी विनिमय सञ्चितिले ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।