काठमाडौं । झापाको दमको स्थापना हुन लागेको नेपाल चाइना फ्रेन्डसिप इन्डष्ट्रियल पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्ड बैठकले औद्योगिक पार्ककको डीपीआर स्वीकृत गरेको हो । डीपीआर स्वीकृत गरेकाले चिनियाँ कम्पनीलाई पार्क निर्माणको काम अघि बढाउन बाटो खुला भएको छ ।
विकासकर्तासँग परियोजना विकास सम्झौता (पीडीए) को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
बोर्डले यसअघि पार्क निर्माणका लागि आवश्यक ६४ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरिसकेको छ । पार्क झापाको कमल गाउँपालिकामा बन्ने छ ।
यस्तै बोर्ड बैठकले संखुवासभा जिल्लामा निर्माण हुने ६७९ मेगावाटको तल्लो अरुण आयोजाको संभाव्यता अध्ययन अघि बढाउन भारतीय कम्पनी एसजेबीएन लिमिटेडसंग गरेको समझदारीपत्र (एमओयू) स्वीकृत गरेको छ । एमओयू स्वीकृत भएकाले एसजेबीएनलाई तल्लो अरुण आयोजनाको संभाव्यता अध्ययन अघि बढाउन बाटो खुला भएको छ ।
आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । माघ १६ गते बसेको ४६ औं बोर्ड बैठकले तल्लो अरुण आयोजना एसजेबीएनलाई दिने निर्णय गरेको थियो ।
बैठकले ७५६ मेगावाटको तमोर जलाशययूक्त जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
साथै, बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
यसैगरी, बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि स्वीकृत भएको छ ।
उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री ओलीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिए । उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बोर्डले जनाएको छ ।
उक्त बैठकमा माननीय उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
उक्त अवसरमा ऊर्जामन्त्री सरतसिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्, वन तथा वातावरणमन्त्री नारद मुनि राना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प राज कँडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ, आमन्त्रित सदस्य बालकृष्ण शिवाकोटी लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।