काठमाडौं। गैरकानुनीरूपमा नेपालीलाई युएईकाे दुबईमा लक्जरियस अपार्टमेन्ट र जग्गा खरिदका लागि 'प्रोपर्टी शो' आयोजना गर्ने पाँच भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेमा हर्ष शर्मा, अफताब हमज, काजल रवि अग्रवाल, गुरुचरण सिंह मेहता र अनुभव बर्मा रहेका छन्।
नेपालीलाई लक्ष्य गर्दै शनिबार र आइतबार काठमाडौं सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरेका थिए। सार्वजनिक सूचना दिएर दुबई प्रोपर्टी शो आयोजना गर्न थालेपछि गत पुस २९ मा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशमा घरजग्गा किने कारबाही गर्ने चेतावनी दिएको थियो।
राष्ट्र बैंकको चेतावनीपछि पनि कार्यक्रम सञ्चालन गरेपछि आइतबार दिउँसो प्रहरीले कार्यक्रम स्थलमा गएर पक्राउ गरेको थियो। उनीहरूको राहदानी नियन्त्रणमा लिएको थियो। प्रशासनबाट समेत अनुमति नलिई कार्यक्रम गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको थियो।
इन्भेस्टर मिडिएटर्सले दामस नाम दिएर आयोजना गरेकाे दुबई प्रोपर्टी शोमा अपार्टमेन्ट र भिल्ला खरिद गर्नेलाई १० वर्षको गोल्डेन भिसा दिने अफरसमेत ल्याइएको थियो। योसँगै पाँच प्रतिशत डाउन पेमेन्टमा बुकिङ गर्न सकिने, एक प्रतिशत कर छुट, बैंक ऋणसमेत व्यवस्था गरेको थियो।
काठमाडौंमा बुकिङ गरेपछि दुबई जान निःशुल्क हवाई टिकटदेखि पाँचतारे होटलमा दुईजनालाई तीन रात चार दिनको प्याकेजसमेत दिने घोषणा गरेको थियो।
नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाइरहेका बेला दुबईमा रहेका व्यवसायीले भने नेपाल आएर अपार्टमेन्ट र भिल्ला बिक्रीका लागि प्रदर्शनीको आयोजना गरेका थिए। सोल्टी होटलमा उक्त कार्यक्रम गत वर्ष पनि सञ्चालन भएको थियो। तर, गत वर्ष पनि उक्त कार्यक्रमको विरोध भएको थियो।